• १३ साउन २०८१, आइतबार

पुल निर्माणका लागि दबाब

blog

पुल निर्माणको कामलाई तिब्रता दिन माग गर्दै स्थानीयले गरेको दबाब कार्यक्रम । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केवर, माघ ३ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन माग गर्दै स्थानीयवासीले दबाब र्‍याली निकालेका छन् । 

ठेक्का सकार गरेको अढाई वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि नबनेपछि स्थानीयले तत्काल पुल निर्माणको माग गर्दै आज यहाँ दबाब दिएका हुन् । जलाद नदीबाट निकालिएको दबाब र्‍यालीका सहभागीले ‘जलाद नदीको अलपत्र पुल छिटो निर्माण गर’ नारा लगाउँदै महेन्द्रनगर चोकमा आएर सडक अवरुद्ध गरेका थिए । 

मिथिलामध्यमा परिक्रमा सडकखण्डसँग जोडिएको जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले समस्या भोग्दैआएका छन् । पुल नबन्दा हरेक वर्ष वर्षायाममा सो नदीले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेको र आउन जान सास्ती खेप्नुपरेकाले दबाब कार्यक्रम गरेको स्थानीयको भनाइ छ ।

डिभिजन सडक कार्यालय जनकपुरका सूचना अधिकारी एवम् इन्जिनियर विवेक झाले ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले पुल निर्माणमा सक्रियता नदेखाएको उहाँले जानकारी दिनुभयो । 

सुरुको सम्झौता बमोजिम पुल निर्माण कार्य २०७६ पुस १९ गते सम्पन्न गर्नुपर्ने थियो तर  २०८० असार १९ गते ठेक्का कार्य सम्पन्न गर्नुपर्ने अन्तिम मिति दिइएको थियो । समयावधि सकिए पनि ठेकेदार कम्पनीले ५३ प्रतिशतमात्र काम सम्पन्न गरेको  उहाँले बताउनुभयो ।  

सो पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ । पुलको लम्बाई १२० मिटर र चौडाइ ११ मिटर छ । निर्माण कम्पनीले १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माणको जिम्मा पाएको हो ।