• ६ जेठ २०८१, आइतबार

महसुल नतिर्ने पाँच सय १६ ग्राहकको लाइन काटियो

blog

अमरराज नहर्की
तनहुँ, माघ ३ गते ।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काट्नुका साथै ७५ लाख ४१ हजार एक सय २६ रुपियाँ असुल गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा विद्युत् महसुल नबुझाउनेको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रले जनाएको छ ।

लाइन काटिएका पाँच सय १६ मध्ये चार सय ४० सेवाग्राहीबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो । केन्द्रले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत बक्यौता रकम असुली गरिएको केन्द्र प्रमुख रेग्मीले बताउनुभयो । अभियानअन्तर्गत सबैभन्दा धेरै बक्यौता बाँकी रहेको आँबुखैरेनी गाउँपालिकास्थित अरनिको सिमेन्ट कारखानाको ७२ लाख ८१ हजार ४८ रुपियाँ भुक्तानी दिन बाँकी रहेकोले लाइन काटिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्र प्रमुख रेग्मीमा अनुसार दमौली वितरण केन्द्रको २८६ सेवाग्राहीबाट ४२ लाख ६७ हजार पाँच सय ९९ रुपियाँ, डुम्रे वितरण केन्द्रबाट १५३ सेवाग्राहीबाट ३५ लाख १० हजार चार सय ९७ रुपियाँ आँबुखैरेनीबाट ९८ लाख ७९ हजार छ सय ३९ रुपियाँ गरी पाँच सय १६ सेवाग्राहीबाट एक करोड ७६ लाख ५७ हजार सात सय ३६ रुपियाँ असुल हुनुपर्नेमा चार सय ४० सेवाग्राहीबाट ७५ लाख ४१ हजार एक सय २६ रुपियाँ असुल गरिएको छ । रकम असुल भएपछि लाइन जोडिएको छ ।

अभियानअन्तर्गत कार्यालय प्रमुख रेग्मी स्वयम्  लाइन काट्न गएपछि  बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घट्न थालेको तनहुँ वितरण केन्द्रका आय प्रमुख रमेश सिग्देलले जानकारी दिनुभयो । अहिले बक्यौता नतिर्ने पाँच सय १५ बाट ७६ मा झरेको उहाँले जानकारी दिनुभयो  ।  सुरुमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिने र क्रमशः बक्यौता नतिर्ने सबैको लाइन काटिने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाइन्छ ।  मिटर रिडिङ गरेको सात दिनसम्म दुई प्रतिशत छुटको व्यवस्था छ । १५ औं दिनसम्म बिल अनुसारको रकम तिर्नुपर्ने हुन्छ । मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । विद्युत् महसुल सङ्कलन विनियमावलीका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्ध रूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ । तीन महिना अघिदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका रेग्मीले विद्युत् महसुल नतिर्नेको लाइन काट्ने अभियान नै सञ्चालन गरेपछि बक्यौता धमाधम असुल हुन थालेको छ ।