• १३ साउन २०८१, आइतबार

सुस्वास्थ्य अस्पतालले गर्‍यो नसा च्यापिएका बिरामीको ९० प्रतिशत सफल उपचार

blog

काठमाडौँ, माघ ३ गते । बानेश्वर मीनभवनस्थित सुस्वास्थ्य हस्पिटलमा आउने नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको छ । 

हस्पिटलको नवौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सुस्वास्थ्य हस्पिटलका अध्यक्ष सुदर्शन बस्नेतले अन्य अस्पतालमा ठिक नभएका दीर्घरोगीहरु सुस्वास्थ्य अस्पतालमा आउने गरेको जानकारी दिँदै तीमध्ये नसा च्यापिएर आएका बिरामीमध्ये ९० प्रतिशत बिरामी ठिक भएर जाने गरेको बताउनुभयो । उहाँले सुस्वास्थ्य अस्पतालले नसा तथा हाड जोर्नीका बिरामीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको जानकारी दिँदै सुस्वास्थ्य उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल रहेको बताउनुभयो । 

उहाँले अस्पतालले औषधिविहीन उपचार पद्धतिहरूलाई एकीकृत रूपमा प्रयोग गरी बिरामीको उपचार गरिने बताउनुभयो । अध्यक्ष बस्नेतका अनुसार हस्पिटलले वार्षिक एक हजार ३०० भन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको छ ।

बस्नेतले अस्पतालमा नसा च्यापिएको बिना शल्यक्रिया उपचार, हड्डी खिइएको उपचार, पक्षाघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेको जानकारी दिनुभयो । उहाँले आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेश स्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको बताउनुभयो । अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टलगायतका कर्मचारी कार्यरत छन् । उहाँले अस्पतालले बिरामीको उपचारका साथै बिरामी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको बताउनुभयो । उहाँले विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरेको बताउनुभयो । यस्तै सञ्चारमाध्यम, कलेज, स्कुल, बैङ्क तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको बताउनुभयो ।

बस्नेतका अनुसार सुस्वास्थ्य हस्पिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी पनि दिनुभयो ।  उक्त शिविरबाट ५ हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।