• १३ साउन २०८१, आइतबार

घुम्ती सडकमा खाल्टैखाल्टा

blog

तम्घास समाचारदाता

तम्घास, माघ ३ गते  । जिल्लाको मुख्य राजमार्गकै घुम्तीमा ठुला खाडल परेपछि दुर्घटनाको जोखिम बढेको छ । मदन भण्डारी राजमार्गमा पर्ने तम्घास–सिमलटारी सडकको तम्घास–छल्दीपनाह खण्डका अधिकांश घुम्तीमा खाडल परेपछि गुल्मेलीहरू दुर्घटनाको जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । 

घुम्तीमै ठुला खाल्डा परेको थुप्रै समय भए पनि मर्मतका लागि कुनै पहल नभएको चालक तथा यात्रु बताउँछन् । सवारीचालक देवबहादुर महताराले सवारी चलाउन समस्या परेको गुनासो गर्नुभयो । 

तम्घास–छल्दी खण्डका मोडहरू आफँैमा खतरनाक भएको र त्यसमाथि  खाडल भएका कारण घुम्तीमा खाल्टा तर्काउने की गाडी जोगाउने समस्या हुने गरेको उहाँको भनाइ छ । यस सडक २०७१ सालमा सडक डिभिजन कार्यालय पाल्पामार्फत कालिका प्यासेफिक जेभीले निर्माण सम्झौता गरेको थियो । पछि तम्घास–सिमलटारी–प्युठान सडक योजनामा हस्तान्तरण गरिएको हो । 

निर्माण व्यवसायीले सम्झौता अनुसार काम नसकेपछि दुई पटक म्याद थप भएको हो । अन्तिम म्याद २०७६ चैत २ गतेको थियो । सडक निर्माणका लागि ३६ करोड ४४ लाख ५४ हजार ९४९ रुपियाँको स्टिमेट गरेर २१ करोड १० लाख ९४ हजार ७१० रुपियाँमा सम्झौता भएको थियो । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माका अनुसार सडकको विषयको मुद्दा परेकाले उच्च अदालत विचाराधीन छ । १२ औँ बिल अर्थात् सम्झौता रकममध्ये २० करोड ६९ लाख ७० हजार १७३ भुक्तानी भएको छ ।  १३ औँ बिल १४ करोड ४१ लाख २४ हजार भुक्तानी गर्न बाँकी रहेको छ ।