• १३ साउन २०८१, आइतबार

ग्रामीण क्षेत्रमा सहरीकरण बढ्दै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ ३ गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा सहरीकरण बढ्दै गएको छ । सिन्धुली जिल्ला हुँदै निर्माण भएका तीन ठुला राजमार्गले यातायातको सहज पहुँच विस्तारसँगै ग्रामीण क्षेत्र सहरोन्मुख भएको हो । बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी लोकमार्ग (धरान– चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणसँगै ग्रामीण क्षेत्रका बजार सहरीकरण भएको स्थानीय बासिन्दा बताउँछन् ।

बिपी राजमार्गले छोएको खुर्कोट, खनियाखर्क, खाल्टे, मूलकोट, रातमाटा, नेपालथोकमा सहरीकरण तीव्र छ । “एक दशकअघिसम्म खुर्कोटमा भोक मेटाउन खाजा खाने राम्रो होटल पाउन हम्मे हम्मे पथ्र्यो,” स्थानीय चूडामणि अधिकारीले भन्नुभयो, “गोजीमा पैसा भए पनि होटल पसलको समस्याले भोकै हिँड्न बाध्य हुनु पथ्र्यो । अहिले बिपी राजमार्ग निर्माण भएर यातायात सञ्चालनसँगै आकर्षक सहरका रूपमा परिणत भएको छ । अहिले सुविधासम्पन्न होटल खुल्ने व्रmम बढेको छ ।”

उहाँका अनुसार निर्माणाधीन मध्यपहाडी लोकमार्गले छोएका देशका १० स्थानलाई साना सहरका रूपमा विकास गर्ने सरकारी योजना अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोट बजार सुविधासम्पन्न सहर बन्दै गएको हो । बिपी राजमार्ग निर्माण भएसँगै त्यस क्षेत्रमा बजारीकरण भएको उहाँको अनुभव छ । खुर्कोटमा यात्रुलाई खाना खुवाउने र बास बस्ने सुविधासम्पन्न लज तथा होटल निर्माण भएका छन् । यति मात्र नभएर निर्माण सामग्री, इलेक्ट्रोनिक सामग्री, कपडा, भाँडालगायत घरायसी प्रयोग हुने सबै सामान यतिखेर खुर्कोटमै सहजै पाइन्छ । राजमार्गको निर्माणपछि धमाधम पक्की घरका संरचना ठडिँदै गएका छन् ।

त्यस्तै मध्यपहाडी लोकमार्गले छोएको गोलन्जोर गाउँपालिकाको केन्द्र ग्वाल्टार, फिक्कल गाउँपालिकाको केन्द्र खाङसाङ, मदन भण्डारी राजमार्गले छोएको मरिण गाउँपालिकाको केन्द्र कपिलाकोट, हरिहरपुरगढी गाउँपालिकाको केन्द्र झन्झने, दुधौली नगरपालिकाको केन्द्र दुधौली पनि बिस्तारै सहरीकरण उन्मुख भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

टायल, ब्लक र काठलगायतले निर्माण भएका घर धमाधम पक्की संरचनामा परिणत हुँदै जान थालेको स्थानीय बताउँछन् । “दुधौली ठुलै सहर बन्दै गएको छ,” दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारू भन्नुहुन्छ, “अहिले यहाँको संरचना र बजार नै व्यवस्थित बन्दै गएको छ । मदन भण्डारी लोकमार्ग दुधौली हुँदै निर्माण भएपछि व्यापार व्यवसाय र बसोबासका लागि समेत दुधौली धेरैको रोजाइमा पर्न थालेको छ ।” दुधौलीको मुख्य बजार क्षेत्रमा एउटा सटरको भाडा २० हजारसम्म पर्न थालेको छ । “स्थानीय वरपरका सबै गाउँबस्तीको किनमेल गर्ने बजार दुधौली नै हो,” स्थानीय शिक्षक टेकनाथ पहाडीले भन्नुभयो, “दिनदिनै सुविधा थपिँदै जाँदा दुधौली बजार सबैको रोजाइमा पर्न थालेको हो ।” उहाँका अनुसार दुधौलीमा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र आएपछि थप सहरीकरण बढ्न थालेको छ । 

“केही वर्षदेखि पुराना संरचना भत्काएर धमाधम पक्की संरचना बन्दै गएको छ,” उहाँले भन्नुभयो, “पक्की संरचना बन्न नपाउँदै भाडामा लागिहाल्छ । मदन भण्डारी लोकमार्गमै पर्ने कपिलाकोट, सहानलगायतका बजार सहरमा परिणत हुन थालेको हो । सामान्य फाटफुट रूपमा मात्र किराना पसल रहेको मरिण क्षेत्रमा हाल सुविधायुक्त बजारका रूपमा विस्तार हुँदै गएको स्थानीय बताउँछन् ।