• १२ साउन २०८१, शनिबार

नारायणगढ–मुग्लिङ सडक

सुध्रियो गुणस्तर, रोकिएन दुर्घटना

blog

वसन्त पराजुली 

नारायणगढ, माघ ३ गते । गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् । 

पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चितवनमा हुलाकी सडक र भित्री सडकमा पनि उत्तिकै दुर्घटना हुँदै आएको छ । तीन वटा ठुुला राजमार्गसँग जोडिएकाले चितवनमा ट्राफिक चाप बढी छ ।

दुर्घटनाका कारणबारे खासै अध्ययन भएको पाइँदैन । मङ्गलबार झिसमिसेमा यस सडक खण्डको तीन नम्बर पुल नजिकको सडकबाट त्रिशूली नदीमा भारतीय गाडी खसेको छ । चालक बेपत्ता छन् । ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले चालकले भेउ नपाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गर्नुभयो । 

“भौगोलिक ज्ञान नभएका कारण पनि यस सडक खण्डमा दुर्घटना हुने गरेको छ,” उहाँले भन्नुभयो । 

कतिपय दुर्घटना सडककै कारण पनि हुने गरेको देखिन्छ । गाडीलाई उछिन्दा (ओभरटेक गर्दा) पनि प्रशस्तै दुर्घटना भएका छन् । चालक निद्रामा रहनु वा सहचालकलाई चलाउन दिनु पनि दुर्घटनाका कारकका रूपमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले सडकसँगै दु्रत गति र चालकको लापरबाही दुर्घटनाका कारण हुन सक्ने बताउनुभयो । हुस्सुका कारण पनि सडक सजिलै नदेखिँदा दुर्घटना हुने गरेको ट्राफिकहरू बताउँछन् । 

थोत्रा गाडीका कारण पनि दुर्घटना हुने गरेको छ । पुरानो नारायणी यातायात प्रालिका सञ्चालक अशोक पोख्रेलले चालक र गाडीमाथि मात्रै दोष थुपारेर दुर्घटना न्यूनीकरण गर्न नसकिने तर्क गर्नुभयो । “जताततै निर्माण कार्य जारी छ । सडकको दुरवस्था छ । यस्तो अवस्थामा चालक र गाडीलाई दोष दिएर उम्किन मिल्दैन,” उहाँले थप्नुभयो, “ट्राफिक सङ्केत पनि छैनन् । कतिपय स्थानमा सडक जीर्ण छ ।”

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले सडक निर्माण तथा मर्मत सुधारका बेला दुर्घटना बढ्नुलाई स्वाभाविक भएको बताउँदै भन्नुभयो, “सडक मर्मत सुधार भइरहँदा दुर्घटना हुन सक्छन् । त्यसतर्फ सचेतना अपनाउनु जरुरी छ । सडक सुरक्षाका लागि सरकारले लगानी गरेको पनि छैन ।” उहाँले चालकको स्वास्थ्य अवस्था, मादक पदार्थ सेवन, थकाइलगायतका कारण पनि सवारी दुर्घटना हुने गरेको बताउनुभयो ।