• ६ जेठ २०८१, आइतबार

जङ्गल फाँडेर धमाधम घाँसे मैदान बनाइँदै

blog

बोमलाल गिरी 

नवलपुर, माघ ३ गते । नवलपुरका बस्तीमा जङ्गली जनावरले आक्रमण गर्न थालेपछि उनीहरूलाई जङ्गलमै रोक्ने विकल्प अघि सारिएको छ । गैँडालाई जङ्गलमै रोक्नका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका शान्तिकुञ्ज, कुमारवर्ती, नमुना र कृष्णसार सामुदायिक वनको जङ्गल फँडानी गरेर धमाधम घाँसे मैदान तयार गरिएको छ ।


नवलपुरको कावासोती-१० मा पर्ने लामिचौर मध्यवर्ती सामुदायिक वनमा ५ सय हेक्टरमा जङ्गल फडानी गरी घाँसे मैदान र दुई सय हेक्टरमा सिमसार तयार गरिएको लामिचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिनुभयो । अन्य सामुदायिक वनले पनि घाँसे मैदानलाई प्राथमिकता दिएको अध्यक्ष पौडेलले बताउनुभयो । 


"मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तुलाई घाँसे मैदानको अभाव देखियो । घाँसे मैदान, आहार–विहार र सिमसारको कमी भएकाले जङ्गली जनावर बस्तीमा पस्न थालेपछि जनावरलाई जङ्गलमै रोक्न र रमाउन दिनका लागि भनेर घाँसे मैदान तयार गरिएको हो", अध्यक्ष पौडेलले भन्नुभयो । 

कावासोती-७ का धनीराम महतोले स्थानीय लापरबाही गरेर घाँस दाउराको लागि जङ्गल छिर्ने र कहिलेकाहीँ जङ्गली जनावर नै बस्तीमा छिरेर बालीनाली सखाप पारिदिने गरेको गुनासो गर्नुभयो । प्रकृतिमाथि मानवीय हस्तक्षेप बढेकाले भित्रै रमाउने जनावर बाहिर निस्कन बाध्य भएको कावासोती १० का पूर्व अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाको भनाइ छ। 

विगतका वर्षभन्दा पछिल्लो समय गाउँ पसेर वन्यजन्तुले दुःख दिने क्रम बढेको तिमिल्सिनाले बताउनुभयो । "पहिले घाँसे मैदानको क्षेत्र धेरै थियो । तर सामुदायिक वनको संरक्षण हुन थालेपछि घना जङ्गल बने । बोटबिरुवा ठुला भएपछि जनावरले आफ्नो आहार टिपेन खान सकेनन् । यसले गर्दा जङ्गली जनावर बस्तीमा पस्न थाले", तिमिल्सिनाले भन्नुभयो, "त्यसैले घाँसे मैदान नै व्यवस्थापन गर्नु पर्ने देखियो ।"

घाँसे मैदान बनाउनका लागि कावासोती नगरपालिका-१० ले दुई लाख रुपियाँ सहयोग गरेको छ । अन्य सामुदायिक वनले पनि हरेक वर्ष केही आर्थिक सहयोग गर्दै आएका छन्।

गैँडाका लागि सिरुसहितको घाँसे मैदान र आहाल खेल्नका लागि पानीसहितको पोखरी तथा चित्तल, हरिणलगायत जनावरका लागि पातपतिङगर र घाँस आवश्यक पर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जङ्गलमै आहार खान पाएपछि बाघ पनि बस्तीमा छिर्दैन । 

नवलपुर प्रहरीका अनुसार गत वैशाख ३१ गते यता जिल्लामा बाघ र गैँडाको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बाघले आक्रमण गरी ६ वटा बाख्रा मारेको छ भने दुई वटा बाख्रालाई घाइते बनाएको छ ।