• २४ असार २०८१, सोमबार

लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका'

blog

वाटिकाको सिलन्यास गर्दै बुटवल नगरप्रमुख खेलराज पाण्डेय लगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ २ गते । लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका' बन्ने भएको छ । नेपाल फार्मेसी सङ्घ रुपन्देहीले वाटिका बनाउन लागेको हो ।

अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटिकाको मङ्गलवार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा, नेपाल फार्मेसी सङ्घका केन्द्रीय अध्यक्ष किरण ढकाल र सङ्घका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । 

करिब १० लाख रुपियाँ लागत अनुमान गरिएको उक्त वाटिका (पार्क) तीन महिनामा निर्माण सम्पन्न हुने बताइएको छ । अस्पतालको प्रस्तावमा सङ्घले ओपिडी भवनको अगाडी डेढ कट्ठामा वाटिका निर्माण गर्न लागेको हो । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिनुभयो । 

लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्नुपर्ने बताउँदै नगरप्रमुख पाण्डेयले त्यसको लागि पहिले सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन प्रस्ताव ल्याउन आग्रह अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । सबै विषयमा प्यारामेडिक अध्ययन गर्ने अस्पताल बनाउन सकियो भने न्यून आय भएका नागरिकका छोराछोरीले पढ्न सक्ने र त्यसपछि मेडिकल कलेज बनाउनको लागि कसैले पनि रोक्न नसक्ने भनाइ राख्नुभयो । 

उहाँले अस्पतालमा बिरामीलाई गर्ने व्यवहार तथा बोलीबचनले बिरामीको आधा रोग निको बनाउन सकिने बताउँदै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई देख्दा बिरामीले विश्वास गर्ने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशील रहेको बताउँदै अस्पताल सुदृढ बनाउन सबैको साथ चाहिने भएकाले सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

नेपाल फार्मेसी सङ्घ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा इट्टा भएपनि थप्न सकियोस् भनेर अस्पतालको प्रस्तावमा पार्क (बाटिका) निर्माण गर्न लागिएको बताउँदै बाटिका निर्माण अभियानमा सहयोग गर्न फर्मासिष्टहरुलाई आग्रह गर्नुभयो ।

यो अभियानमा अहिलेसम्म फर्मासिष्टबाट करिब ७ लाख रुपियाँको प्रतिबद्धता आइसकेको नेपाल फार्मेसी सङ्घ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी दिनुभयो । 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालमा बिरामीको स्वास्थ्योपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाँको वातावरणले प्रभाव पार्ने बताउँदै तीन वटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले अस्पतालमा विभिन्न स्थानमा विभिन्न प्रकाशका पार्कहरू निर्माण गर्न लागिएको बताउँदै निर्माण सम्पन्न भएपछि त्यसले बिरामीलाई एक प्रकारको सकारात्मक ऊर्जा प्रवाह गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । 

नेपाल फार्मेसी सङ्घका केन्द्रीय अध्यक्ष किरण ढकालले सङ्घले जहाँ औषधी त्यहाँ फर्मासिष्ट भन्ने नारा अगाडी सारेको बताउँदै तीनै तहका सरकारलाई सोही अनुसार नीति लिन पनि आग्रह गर्नुभयो ।