• २४ असार २०८१, सोमबार

नेपाल र भारतको सम्बन्ध अतुलनीय छ : मन्त्री आचार्य

blog

कपिलवस्तुमा आयोजना गरिएको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एक दिवसीय सम्मेलन । तस्बिर: नारद कोहार

नारद कोहार

तौलिहवा, माघ २ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । नेपाल-भारत मिल्लत परिषद्ले आयोजना गरेको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एक दिवसीय सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 

नेपाल र भारतबिच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उक्त सम्बन्धलाई वर्षौँसम्म बचाई राख्नु सबैको दायित्व रहेको उहाँको भनाइ छ । मन्त्री आचार्यले बिना भिसा दुई देशका नागरिक आवतजावत गर्नसक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने बताउनुभयो । दुई देशबिच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितीय र प्रशंसनीय रहेको मन्त्री आचार्यले बताउनुभयो ।

"नेपाल र भारतबिच रोटीबेटीको सम्बन्ध मात्र नभई दुवै देशबिच वैवाहिक, सांस्कृतिक, धार्मिक, पर्यटन एवम् रोजगारीका क्षेत्रमा एकअर्काको परिपूरकका रूपमा रहेको छ," उहाँले भन्नुभयो, "यो सुखद विषय हो, यसलाई जीवन्त बनाइराख्न आवश्यक छ ।"

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले गएको ७५ वर्षमा निकै नै उन्नति प्रगति गरेको बताउनुभयो । उहाँले भारतले गरेको उन्नति प्रगतिमा छिमेकीको नाताले हामी नेपाली खुसी रहेको बताउनुभयो ।

भारतका तर्फबाट प्रोफेसर डाक्टर राज कुमारले भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको बताउनुभयो । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारी, डाक्टर सुरेन्द्र झा, भारतका तर्फबाट प्रोफेसर डाक्टर कौसर उसमान लगायतको सहभागिता थियो ।