• २४ असार २०८१, सोमबार

दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

blog

यातायातामन्त्री प्रकाश ज्वालालाई सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ज्ञापन पत्रबारे जानकारी दिनुहुँदै रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मङ्गलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले ज्ञापन पत्र बुझाउँदै पार्टीका सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गर्नुभयो । उहाँले यस वर्षको मङ्सिर महिनासम्म देशभर साना ठुला गरेर करिब १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्याङ्क रहेको बताउनु भयो । उहाँले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र दुई हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क रहेको बताउनु भयो । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्याङ्क आफूले पाएको पनि जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो,  ‘‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ? यो वर्षको मङ्सिरसम्म मात्र देशभर साना ठुला गरेर करिब १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । दुई हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’’

ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने जानकारी दिनुभयो । उहाँले सडकलाई खाल्डाखुल्डी रहित बनाएर, सडक सुधारका कामलाई तीव्रता  दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी यसमा गम्भीर छौँ र तपाईँले दिएको सुझाव र प्रश्नहरूको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमाभन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौँ । राजनीतिक दल, संसद् र संसदीय समितिले पनि आवश्यक सहयोग गर्नुपर्छ । घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ । सडकलाई खाल्डाखुल्डी रहित बनाएर हुन्छ की, सडक सुधारका कामलाई तीव्रता  दिएर हुन्छ की ? सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की ? चालकलाई प्रशिक्षण दिएर हुन्छ की ? हामी समस्याको निराकरण गर्नेकुरामा हामी गम्भीर छौँ ।’’ सरकार सवारी साधन दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक काम गरेर अघि बढिरहेको बताउनुभयो ।