• १६ भदौ २०८१, आइतबार

नेतृत्व विकास र आर्थिक उपार्जनमा सहकारी

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), माघ १ गते । कैलालीका विभिन्न स्थानीय तहका महिलाको नेतृत्व विकास तथा आर्थिक उपार्जनमा सहकारीले मद्दत गरेको पाइएको छ । विभिन्न निकायको प्रमुख जिम्मेवारीमा पुगेका महिलाको अनुभवमा केही सहकारी संस्थाले नेतृत्व विकासका साथै आर्थिक उपार्जनमा सहयोग पुगेको बताएका छन् ।

भजनी नगरपालिकाका निवर्तमान उपप्रमुख छायाँ देवकोटा स्थानीय तहमा निर्वाचित हुनुपूर्व सहकारीमा आबद्ध हुनुहुन्थ्यो । तीन कार्यकाल अध्यक्ष भएको अनुभव सुनाउँदै देवकोटाले सहकारीको अनुभवले स्थानीय तहमा उपप्रमुख भएर काम गर्न थप सहयोग गरेको बताउनुभयो । 

आफू आबद्ध भजनीको साना किसान कृषि सहकारी संस्थामा एक हजारभन्दा बढी महिला सेयर सदस्य रहेको बताउँदै उहाँले ग्रामीण क्षेत्रमा आयआर्जनको पाटोमा तालिम उपलब्ध गराइ बङ्गुरपालन, बाख्रापालनलगायतका क्षेत्रमा महिलाले जीविकोपार्जन गरिरहेको बताउनुभयो । उहाँले भजनीमा तीन दर्जनभन्दा बढी सहकारी रहेको र केही सहकारीले महिलाको  जीविकोपार्जन, सामाजिक कार्य, नेतृत्व विकासमा सहयोग गरेको उल्लेख गर्नुभयो ।

बर्दगोरिया गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भगवती थारू पनि स्थानीय तहमा निर्वाचित हुनुपूर्व वर्ष सहकारीमा आबद्ध हुनुहुन्थ्यो । समूह निर्माणमार्फत गाउँ गाउँका महिलालाई बचत गर्न सिकाउनुका साथै जीविकोपार्जनका लागि विभिन्न आयमूलक कार्य गर्न सहकारीले भूमिका खेलेको उहाँले बताउनुभयो । २०६४ सालमा स्थापना भएको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थामा लामो समय पुरुष अध्यक्ष भएर नेतृत्व लिइरहेको अवस्थामा २०७७ सालको चुनावी साधारण सभावाट नेतृत्वसहित सबै पदमा महिला निर्विरोध निर्वाचित भई एक कार्यकाल पूरा गरेका छन् । 

सो संस्थाको १६ औँ चुनावी साधारण सभामा अध्यक्ष लक्ष्मी चौधरीले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले १६ वर्षदेखि ३६ वर्ष ननाघेका महिला तथा युवतीलाई आयआर्जनमूलक व्यवसायमा विशेष जोड दिई बिनाधितो वार्षिक आठ प्रतिशत सुलभ तरिकाले ऋण प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । “अरूको अगाडि आफ्नो नाम भन्न नसक्ने महिला अहिले सहकारीको नेतृत्व लिने भएका छौँ, सहकारीबाट सहुलियत दरमा ऋण निकालेर व्यवसाय गर्न र जीविकोपार्जनमा सहजता भएको छ,” सेयर सदस्य कृष्णा चौधरीले भन्नुभयो ।