• ११ मंसिर २०८१, मङ्गलबार

थारु गाउँमा माघी पर्वको रमझम

blog

चामल छोएर माघी पर्वको सुरुवात गर्दै थारु चेली । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस २९ गते । थारु समुदायका सदस्यहरुले आफ्नो नयाँ वर्ष माघी मनाउन सुरु गरेका छन् । माघी खिचडी खिचडाका नामले साँस्कृतिक झाँकी तथा लोक नृत्यहरु प्रदर्शन गरी हर्ष उल्लासका साथ यो पर्व मनाउन थालेका हुन् ।

खासगरी माघी पर्व प्रत्येक बर्षको पुस मसान्त अथवा पुस महिनाको अन्तिम दिन र माघको १ गते गरी दुई दिन मनाउने गरिन्छ । पुस मसान्तको अघिल्लो दिन घरमा पालेका बङगुर, खसी, बोका, भेडा, कुखुरा काटेर मासु खाने प्रचलन थारु गाउँमा छ । 

पुराना र नयाँ जिम्मेवारी लिने व्यक्तिहरुलाई बोलाई खानपीनका साथ विदाइ र स्वागत गर्ने प्रचलन रहेको थारु प्रतिनिधिको भनाइ छ । यो दिनलाई थारु समुदायमा ‘सुवर मराई’ नामले जानिन्छ । पुस मसान्त र माघको पहिलो दिन बिहानै नुहाएर चामल, दाल, नुन छुने र सेतो चामलको टीका लगाउने प्रचलन रहेको छ । यसै अवसरमा घरमा मिठा खिचडी, तिलको लड्डु तथा मिठा परिकारहरु बनाई खाने गरिन्छ । 

छोएर राखेको चामल, दाल, नुन आफ्ना विवाहित चेलीलाई दान दिने प्रचलन रहेको थारु अगुवाहरुको भनाइ छ । माघीमा झुमरा, झर्रा, मयुर नाच, सजनी, बिरहनी जस्ता थारु लोकनाच र गीत प्रदर्शन गरी नाचगानसहित सामुहिक रुपमा माघी मनाउने चलन रहेको थारु अभियनता राजेश चौधरीले बताउनुभयो ।

थारु समुदायको मुख्य पेशा कृषि रहेको छ । पुस र माघ महिना किसानका लागि फुर्सदिलो समय मानिन्छ । मौलिक परम्पराअनुसार घरको मुखियाको नेतृत्वमा जिम्मेवारी बाँडफाँड पनि यस पर्वमा गरिन्छ । 

बडघरले एक बर्षको हरहिसाब दिने र अर्को बडघर छान्ने प्रचलन पनि थारु गाउँमा छ । नयाँ बडघरलाई गाउँ समुदायको विकास, न्याय निरुपण, सामाजिक कार्य र समाजमा नेतृत्व प्रदान समेत गरिन्छ । बडघरकै नेतृत्वमा गाउँको सोखा, गुरवा, चौकिदार, लोहार, सोरहिन्हिया छान्ने प्रचलन रहेको चौधरीले बताउनुभयो ।  

माघ १ गते देखि तिलको दानाजस्तै प्रत्येक दिन सूर्य उत्तरतिर बढ्ने र दिन लामो हुँदै जाने र रात सानो हुँदै जाने बताइन्छ । सामाजिक र आर्थिक विकास, न्याय सम्पादन, समाज नेतृत्व र सामाजिक कार्य सम्पादन, प्रेम, सहयोग, एकता, भाइचारा र बन्धुत्वको दृष्टिकोणले पनि माघी तथा खिचडी पर्व थारु समुदायको लागि महत्वपुर्ण पर्व मानिन्छ ।