• १३ साउन २०८१, आइतबार

कर्णालीमा मुख्यमन्त्री शर्माको एक वर्षे उपलब्धि सार्वजनिक

blog

आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री राजकुमार शर्मा। तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, पुस २९ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार पत्रकार सम्मेलन गर्दै उहाँले कार्यप्रगति सार्वजनिक गर्नुभएको छ। 

मुख्यमन्त्री शर्माले सार्वजनिक गर्नुभएको कार्यप्रगतिमा आफू नेतृत्वको सरकार ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ बनाउने सपना पुरा गर्न निरन्तर लागिरहेको दाबी गर्नुभएको छ। एक वर्षको अवधिमा बाहिर देखिनेभन्दा पनि आन्तरिक रूपमै व्यस्त भएको सरकाले अघि सारेको नारामै आधारित रहेर अघि बढिरहेको शर्माको भनाइ छ। 

‘‘मैले मुख्यमन्त्रीको कार्यभार सम्हालेदेखि पटक–पटक तीन पटक विश्वासको मत लिनुपर्‍यो,’’ शर्माले भन्नुभयो, ‘‘त्यसका बाबजुद पनि आन्तरिक रूपमा महत्त्वपूर्ण कार्य भइरहेका छन्।’’ उहाँले कर्मचारीतन्त्रलाई दिएको ६१ बुँदे निर्देशनबारे पनि ब्रिफिङ गर्नुभएको थियो। सरकारको कामकारबाहीलाई कर्णालीवासीको अपेक्षा अनुसार कार्यान्वयन गर्न दिइएको ६१ बुँदे निर्देशन, आव ०८०/०८१ को स्वीकृत नीति कार्यक्रम तथा बजेट, प्रदेश सभालाई गरिएको सम्बोधन लगायतका आधारमा एकीकृत तथा रणनीतिक कार्ययोजना बनाई सरकार अघि बढेको शर्माको भनाइ छ।

यस्तै अहिलेसम्म कुल बजेटको १३ प्रतिशत खर्च भएको, पुँजीगत खर्च बढाउनका लागि बहुवर्षीय ठेक्काको सीमा निर्धारण र खर्च सुनिश्चितताका लागि कार्यविधिमा आवश्यक संशोधन गरी ठुला आयोजनाको ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो। उक्त कार्यलाई नयाँ सुरुवात भनिए पनि कार्तिक मसान्तसम्म गरिसक्नुपर्नेमा अझै सबैजसो ठेक्काको काम भने हुन सकिरहेको छैन। 

शर्माले साना तथा टुक्रे योजनालाई नियन्त्रण र नियमन गर्न लागिएकोले दोस्रो चौमासिकमा पुँजीगत खर्चमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वार्षिक १० हजारलाई रोजगारी दिने भन्ने निर्णयमा आन्तरिक कार्य भइरहेको जनाउनुभयो। ‘‘समृद्ध कर्णालीको भिजनसहित प्रदेशभित्र वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने उद्देश्य राखी कर्णाली समृद्धि परियोजना सञ्चालनको लागि वार्षिक कार्यक्रम कार्यान्वयनमा ल्याएर त्यसको लागि आवश्यक कानुन, परियोजना दस्ताबेज र सूचना तथा तथ्याङ्क सङ्कलनको लागि अनलाइन प्रणाली निर्माणको कार्य भइरहेको छ,’’ उहाँले भन्नुभयो। 

बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउने उद्देश्यले पालिकाका सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो। यस्तै एक वर्षको अवधिमा कर्णालीमा ३३.६२ किलोमिटर सडक कालोपत्रे भएको छ। १४९.४१ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ। यस्तै ७२५.०५ किलोमिटर नयाँ ट्याक खोलिएको छ। यस्तै ५१ वटा झोलुङ्गे पुल, ७ वटा सडक पुल निर्माण भएका छन्। १४४.२० किलोमिटर पक्की सडक नाला निर्माण भएका छन् भने ६२२ वटा जनता आवास तथा विपन्नको घर निर्माण, ३ वटा सामुदायिक भवन निर्माण भएको शर्माले बताउनुभयो।  

गत आर्थिक वर्षको अन्तमा निर्वाचन क्षेत्रगत तथा पूर्वाधार विशेष कार्यक्रमबाट ८७ भवन, ६५ सडक, ५  विद्युतीय संरचना, ३० तटबन्ध, ३१ सिँचाइ, २७  खानेपानी  र अन्य १०५ गरी जम्मा ३०५ आयोजना प्रदेश सरकारबाट सम्पन्न भएको शर्माले दाबी गर्नुभयो।  जलस्रोत तथा ऊर्जा विकासतर्फ दुई हजार २६९ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध भएको छ।

खानेपानीतर्फ कुल जम्मा एक लाख तीन हजार थप जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको पनि उहाँको भनाइ छ। नदी नियन्त्रणतर्फ १३ किलोमिटर तटबन्धन निर्माण भएर १५२ हेक्टर थप जमिन उकास भएको छ। आर्थिक वर्ष ०७९÷०८० मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ७८८ वटा सिँचाइ योजना निर्माण सम्पन्न भएर एक हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुधार तथा ११५ हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको पनि शर्माले जनाउनुभयो। 

सिँचाइ योजना निर्माण तथा मर्मत सम्भारको क्रममा १५ हजार २ सय २० जनालाई २ महिना बराबरको अस्थायी रोजगारी सिर्जना भएको, जसबाट १८ हजार ४ सय ५६ घरधुरी लाभान्वित भएका छन्। आर्थिक वर्ष ०८०/०८१ मा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ६२८ वटा सिँचाइ योजना मध्ये ५०५ बटा सिँचाइ योजनाको सम्झौता भइएर निर्माण कार्य सुरु भएको मुख्यमन्त्री शर्माले बताउनुभयो।  

हिउँदे फलफूल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४ सय ३६ ओखर, ८ हजार ९ सय किवी र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ बिरुवा वितरण गरी करिब दुई सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको छ। जसमा ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित भएको र दुई सय ५० जनाले १५ दिन बराबरको प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। यस कार्यक्रमबाट ३०० जनालाई पूर्ण स्वरोजगारी सृजना भएको छ। 

ब्याज अनुदान कार्यक्रममार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा परिचालन भएको छ। लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, र कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन कार्यक्रमबाट चार हजार ८३५ घरधुरी लाभान्वित भएका छन्, जसबाट ९४७ जना पूर्ण स्वरोजगार र ४०९६ जनालाई करिब ४ महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको छ। 

कृषि व्यवसाय प्रवर्द्धन तथा रोड कोरिडोर कार्यक्रमबाट तीन सय २४ प्लास्टिक घर निर्माण भएका छन् भने ९१ घरधुरी प्रत्यक्ष लाभान्वित भएको छन्। यस्तै लगानी सम्मेलनको विषयमा मुख्यमन्त्री शर्माले तयारी भइरहेको जनाउनुभयो।