• १३ साउन २०८१, आइतबार

अन्नपूर्ण आधार शिविरमा पर्यटन पूर्वाधार निर्माण गरिने

blog

नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी पुस २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४ नारच्याङस्थित नयाँ गन्तव्यका रुपमा विकास हुन लागेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पर्यटकीय पूर्वाधार बन्ने भएको छ । पछिल्ला केही वर्ष यता हिमाल आरोहण गर्ने आरोही र आधार शिविरको भ्रमणमा पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थाले पनि गाउँपालिका पर्यटन पूर्वाधार निर्माणमा जुटेको हो । 

शनिबार साँझ सम्पन्न भएको गाउँसभाको १८ औं अधिवेशनले गाउँपालिकामा मौज्दात रहेको बजेटलाई पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । चार हजार तीन सय पाँच मिटरको उचाइमा रहेको आधार शिविरस्थित पञ्चकुण्ड तालको नजिक र केही तल भुस्केत मेला भन्ने स्थानमा पर्यटक लजका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पचास लाख रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, "आधार शिविरलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न चाहन्छौं । त्यसका लागि पर्यटन पूर्वाधार निर्माण गर्न पालिकाले प्राथमिकतामा राखेको छ ।" अहिले विनियोजन भएको बजेटबाट आधार शिविरस्थित पञ्चकुण्ड ताल छेउमा र भुस्केत मेलामा पर्यटकको सुविधाका लागि सामुदायिक लजको पूर्वाधार निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

वडा नम्बर ५ मा रहेको पर्यटकीय स्थल खोप्रामा पूर्वाधार निर्माणका लागि १६ लाख, नारच्याङ झरनामा रेलिङ निर्माणका लागि ७ लाख, वडा नम्बर ७ हिस्तानस्थित पेरी भारानी ताल संरक्षणका लागि दुई लाख पचास हजार, रातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि ८ लाख रुपियाँसहित ७५ वटा योजनाका लागि पालिकामा मौज्दात रहेको तीन करोड ८१ लाख रुपियाँ थप बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । आधारलाई प्रवर्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न पर्यटन गुरुयोजना निर्माण गर्न लागेको उहाँले बताउनुभयो । 

पर्यटन पूर्वाधार, सडक मर्मत तथा स्तरोन्नति, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । गत असारमा सम्पन्न १७ औं गाउँसभाले अन्नपूर्णमा चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि ५३ करोड ५४ लाख ४३ हजार छ सय बराबरको बजेट स्वीकृत गरेको थियो ।