• ७ जेठ २०८१, सोमबार

बेनीमा माघे सङ्क्रान्ति मेला सुरु

blog

मेलाको उद्घाटन पूर्व बजारमा निकालिएको झाँकी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस २९ गते । म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि माघे सङ्क्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरूको सक्रियतामा परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।  

मेलाको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरेका छन् । नौमती बाजा सहित मेला आयोजना स्थल खुल्ला मञ्चबाट सुरु भएको भेषभूषा सहितको र्‍यालीले बजार परिक्रमा गरेको छ  । मेला पुस २९ देखि माघ २ गतेसम्म माघे सङ्क्रान्ति मेला सञ्चालन हुने छ । 

मेलामा स्थानीय उत्पादनको प्रदर्शन र कला संस्कृति संरक्षण पहिलो प्राथमिकतामा राखिएको आयोजक महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । बेनीमा परम्परागत रूपमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई निरन्तरता दिँदै पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । 

जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन,विभिन्न खेलकुद प्रतियोगिताहरू, आमा नृत्य प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहने महिला उद्यम विकास समितिले जनाएको छ । मेलामा खुल्ला अन्धनिसान, महिला-पुरुष छेलो फ्याँक्ने, महिला-पुरुष लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिने जनाइएको छ ।