चाँदनी आचार्य
घोडाघोडी (कैलाली) पुस २८ गते । विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुकाे गणना सुरु भएको छ । नेपाल पन्क्षी संरक्षण सङ्घ, चरा संरक्षण नेटवर्क, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली शनिबारदेखि यस वर्षको जलपन्क्षी गणनामा खटिएको हो ।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी र नेपाल पन्क्षी संरक्षण सङ्घका फिल्ड म्यानेजर हिरुलाल डंगौराको नेतृत्वमा दुई वटा समूहले घोडाघोडी ताल, नकरोड ताल लगायत सिमसार क्षेत्रमा रहेका तालतलैयामा जलपन्क्षी गणना कार्य सुरु भएको छ ।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले भन्नुभयो, “पहिला जस्तो चराको धेरै चहलपहल छैन कतै बढेको, कतै घटेको अनुमान गरेका छौँ, सबैतिरको गणनाको नतिजा आएपछि यकिन थाहा हुन्छ ।”
घोडाघोडी तालमा ५-७ वर्ष पहिला देखिने चरा अहिले देखिन छोडेका छन् । आहाराको कमी र असुरक्षित वासस्थानका कारण चराहरू लोप हुँदै गएको अध्यक्ष चौधरी बताउनुहुन्छ।
नेपाल पन्छी संरक्षण सङ्घको अगुवाइमा केही वर्षदेखि विभिन्न क्षेत्रमा चरा गणना गरिँदै आएको छ । चरा गणना गर्ने क्रममा कुनै ठाउँमा नयाँ प्रजातिका चरा थपिएको छ भने कतिपय ठाउँमा चराहरू हराउँदै गएको सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले बताउनुभयो ।
“सूचक प्रजातिको रूपमा रहेको हरीहाँसको संख्यासमेत हरेक वर्ष घट्दै गएको छ । बच्चा कोरल्ने र हुकार्उनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” उहाँले भन्नुभयो ।
चराविद् डगौराले सानो जलेवा घोडाघोडी तालमा पाइने चराहरुमध्य रैथाने चरा भएको र यसको सङ्ख्या पनि घट्दै गएको बताउनुभयो । उहाँले सानो जलेवाको एक हुल देखाउँदै भन्नुभयो, “पहिलेभन्दा गत वर्ष घटेको पाएका थियौँ, हेरौँ यो वर्ष कति भेटिन्छन् ।”
सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको विवरण, अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधि गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष सिमसार क्षेत्रको जलपन्क्षी गणना गरी सिमसार क्षेत्रमा चराको सङ्ख्याको हरेक वर्ष एकीकृत प्रतिवेदन तयार गरिन्छ ।
मानव गतिविधि कम हुने क्षेत्रमा चराको सङ्ख्या बढ्दै गएपनि घोडाघोडीमा मानव गतिविधि र नकरोड तालमा चोरी सिकारीका कारण चराहरूको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले बताउनुभयो ।
सूचक प्रजातिको रूपमा रहेको हरिहाँस र बगाले सिमकुखुरा पहिलेपहिले तालको छेउछाउमा बाक्लो मात्रामा देखिँदै आएकोमा अहिले फाट्टपुट्टमात्र देखिने गरेको स्थानीयको भनाइ छ । नेपालमा मात्र पाइने अधिकांश चराहरूको वासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा मानवीय गतिविधि कम हुने क्षेत्रमा नयाँ प्रजातिका चरापनि थपिएका छन् ।
कैलालीमा ४९६ प्रजातिका चरा पाइने गरेको जनाइएको छ । जसमध्ये राज लाहाँचे, डङ्गर गिद्ध, गरुडलगायत विश्वबाटै लोप हुने अवस्थाका चरा पनि यहाँ छन् । यसैगरी नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा ३६० प्रजातिका चरा पाइने गर्छन् ।
कैलालीमा सबैभन्दा बढी चरा प्रजाति घोडाघोडीमा पाइने गरेको तथ्याङ्कले देखाउँछ । घोडाघोडी सिमसारमा पाइने चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने उद्देश्यले २०७८ फागुन २७ गते सुदूरपश्चिम सरकारले घोडाघोडीलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो ।