गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पाँच पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष साम्देन लामा अनधिकृत रूपमा नेतृत्वमा आएको, आर्थिक कारोबार पारदर्शी नभएको र अपाङ्गता भएका व्यक्तिको हेरचाह राम्रोसँग नभएको दाबी गर्दै आठमध्ये पाँच पदाधिकारीले राजीनामा दिनुभएको हो ।
उपाध्यक्षद्वय चन्द्रप्रसाद तिमिल्सिना र शरद अधिकारी, उपमहासचिव धर्मराज पन्त, कोषाध्यक्ष रामप्रसाद कोइराला र उपकोषाध्यक्ष सुरेश श्रेष्ठले राजीनामा दिनुभएको हो । पदाधिकारीकै रूपमा निवर्तमान अध्यक्ष धनजुजु श्रेष्ठ रहनुभएको छ । पूर्वउपाध्यक्ष अधिकारीले भन्नुभयो, “निवर्तमान अध्यक्ष पनि पदाधिकारी रहने व्यवस्था छ तर उहाँले राजीनामा दिन मिल्दैन । त्यस कारण हामी पाँच जनाले राजीनामा दिएका हौँ । अब पदाधिकारीको बैठक बस्दैन । केन्द्रीय समिति बैठक आह्वान गर्नु पर्छ र सङ्घमा देखिएको समस्या निराकरण गर्नु पर्छ ।”
कोषाध्यक्ष कोइरालाले वार्षिक चार लाख रुपियाँ बैठक भत्तामा खर्च गर्ने गरी बजेटको व्यवस्था गरे पनि छ लाखभन्दा बढी खर्च गर्ने, अध्यक्षले आफूखुसी रकम निकासा गर्नेसहित आर्थिक कारोबार पारदर्शी नभएकाले आफूहरूले सोमबार राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता अधिकारको पक्षमा खुलेको सङ्घमा अहिले भद्रगोल छ, आर्थिक पक्ष ज्यादै डामाडोल छ, अपाङ्गता भएका व्यक्तिलाई भन्दा पनि अध्यक्ष र महासचिवको सेवासुविधामा रकम खर्च गर्ने परिपाटी भयो र राजीनामा दिएका हौँ ।” अध्यक्ष साम्देन लामाले कोषाध्यक्ष कोइरालाको मात्रै राजीनामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घ चल्दै छ, खोइ त्यस्तो केही भएको छैन ।”
चरम बेथिति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव सेवा आश्रमले काठमाडौँ र हेटौँडामा आयोजना गरेको कार्यव्रmममा सरकारको योजना अनुरूप २०८२ सालभित्र देशलाई ‘सडक मानवमुक्त’ बनाउने दृढता व्यक्त गरिरहँदा नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र बेथितिले थलिएको छ । पदाधिकारीको मनोमानी र आर्थिक अनियमितताका कारण काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका अस्तव्यस्त भएको हो । केन्द्रमा रहेका शारीरिक अपाङ्गता भएका, अशक्तको दैनिक कठिन बनिरहेको छ ।
केन्द्रमा आश्रित नागरिकले अपाङ्ग सङ्घर्ष समिति गठन गरेर मङ्सिर ४ देखि आन्दोलन गरेका थिए । एक महिनापछि सम्पूर्ण माग पूरा गराउने सहमतिपछि ताला खुलेको थियो ।
सहमति भएको झन्डै तीन साता हुँदा पनि माग सम्बोधन नभएपछि अपाङ्गता भएका आश्रित नागरिकमाथि झनै ठुलो आहत भएको छ । अपाङ्गता अधिकार अभियन्ता भरतबहादुर कार्कीले भन्नुभयो, “एक साताभित्रै माग सम्बोधन गर्ने सहमति जनप्रतिनिधिको रोहबरमै भएको थियो तर माग पूरा गर्ने त अर्को कुरा बिरामी भएकालाई अस्पताल लाने प्रबन्धसमेत भएको छैन ।”