काठमाडौं, पुस २७ गते । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रबिन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गर्नुभएको छ ।
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वाभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्नुहुँदै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनासहित आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नक्सालस्थित नारायणचौरबाट फोहोर सङ्कलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मूल गेट, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो । उक्त दौडमा प्रथम हुनेलाई ५० हजार रूपियाँ, द्वितीय हुनेलाई २५ हजार रूपियाँ, तृतीय हुनेलाई १५ हजार रूपियाँ र चौथो हुनेलाई ५ हजार रूपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
दौड अभियानमा नेपाल प्रहरीका कर्मचारीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न महानुभावको सहभागिता थियो ।