• २९ वैशाख २०८१, शनिबार

सामुदायिक वनमा काँचा सालका रुख कटानी

blog

कटानी गरेका सालका रुख । फाइल तस्बिर

कञ्चनपुर, पुस २७ गते । कृष्णपुर नगरपालिका-२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो । 

सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताउनुभयो । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उहाँले बताउनुभयो ।

दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उहाँले राति वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताउनुभयो । “पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यसकै आधारमा अनुसन्धान अगाडि बढाइएको छ ।”

सालका रुख कटानी भएको देखिएपछि सब डिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उहाँले बताउनुभयो । उहाँले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताउनुभयो । अहिले वनक्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सब डिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सब डिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताउनुभयो । “सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउनासाथ डिभिजन वन कार्यालयका प्रमुखसहितले राति नै गस्ती गरेका छौँ”, उहाँले भन्नुभयो, “वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ ।”

अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उहाँले बताउनुभयो । “जोसुकै भए पनि छाड्दैनौँ”, उहाँले भन्नुभयो, “तस्कर छिट्टै पक्राउ पर्छन् ।” सःमिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उहाँले डिभिजन वन कार्यालय कैलालीसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो । रासस