• १४ मंसिर २०८१, शुक्रबार

सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई कैद सजाय

blog

फैसला सुन्न जिल्ला अदालतको परिसरमा पुगेका पीडितहरु । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, पुस २७ गते । नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपियाँ अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले बहालवालासहित तीन जना अध्यक्षसमेत १९ जनालाई कानुन बमोजिम हदैसम्मको कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले सहकारीका तीन अध्यक्षसहित ९ जनालाई ५ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना, दुई जनालाई चार वर्ष कैद र ४० हजार रुपियाँ, एक जनालाई तीन वर्ष कैद र पाँच हजार रुपियाँ जरिवाना, एक जनालाई दुई वर्ष ६ महिना कैद र पाँच हजार रुपियाँ जरिवाना, दुई जनालाई दुई दुई वर्ष र चार जनालाई जनही एक वर्षका दरले कैद सजाय तोकेको हो । 

इजलासले दुई वर्ष र एक वर्ष कैद सजाय हुनेलाई जनही पाँच हजारका दरले जरिवानाको फैसला गरेको हो । मुलुकी ऐन ठगीको महलमा पाँच वर्षसम्म कैद र पाँच हजार रुपियाँसम्म जरिवाना गर्नसक्ने व्यवस्थाअनुरुप हदैसम्म कारबाही गरिएको फैसलामा जनाइएको छ ।

सहकारी वित्तीय संस्था लिमिटेड नेपालगन्जका वर्तमान अध्यक्ष हरदेव बक्स चौधरी, पूर्व अध्यक्ष अम्मरबहादुर खड्का, गोपाल भण्डारी, गङ्गाधर सुवेदी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लीलाप्रसाद ओली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच पाँच वर्षको कैद सजाय सुनाइएको छ । 

त्यसैगरी बलराम यादव र गौरव श्रेष्ठलाई चार चार वर्ष, रवीन्द्र थापालाई तीन वर्ष, सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद सजाय गरिएको छ । सोही प्रकारले तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई दुई वर्ष, स्थिरमणि बज्राचार्य, लीला शाह, सन्दीप शर्मा र शारदा थापालाई एक एक वर्ष कैद सजाय तोकिएको छ ।