• १५ मंसिर २०८१, शनिबार

दोलखामा भएन हिउँदे वर्षा

blog

हिमाली जिल्ला दोलखा । तस्बिर: सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, पुस २७ गते । हिमालमा हिउँ पर्नु अस्वाभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला दोलखामा हिउँ पर्थ्यो । गएकका वर्षहरुमा कात्तिकदेखि नै हिउँ पर्ने गरेको दोलखाका विभिन्न ठाउँमा यो वर्ष भने न हिउँ नै परेको छ, न हिउँदे वर्षा नै भएको छ । 

हिउँ परेपछि दोलखाका होटल हरु भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकले धानेको होटल क्षेत्रमा हिउँ नपरेकै कारण हिउँदको समयमा पनि कालिञ्चोक क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको होटल व्यवसायीहरु बताउँछन् ।

जिल्लाको मुख्य पर्यटकीय स्थलका रुपमा चिनिने कालिञ्चोक, जिरी, शैलुङ, खरीढुङ्गालगायतका क्षेत्रमा चाँदीझैँ हिउँले सेताम्मे हुन्थ्याे । हिउँ पर्ने महिना सकिन लागे पनि यसपालि दोलखामा हिउँ पर्ने छाँटकाँट देखिँदैन । हिमपातसँगै मुटु काम्ने ठिही यसपालि आएन । हिउँ हेर्न र हिउँसँग रमाउन सयौं आन्तरिक तथा बाह्य पर्यटक दोलखा आउने गरेका थिए ।

स्थानीय पुस्कर अधिकारी पुस, माघ महिनामा थेग्नै नसक्ने गरी हिउँ परेको सम्झनुहुन्छ । उहाँ भन्नु्हुन्छ, ‘‘कालिञ्चोक, शैलुङलगायतका बस्ती सबै हिउँले सेताम्मे हुन्थे । खै किन हो, यो वर्ष हिउँको दर्शन गर्न पाइएन ।’’ मौसममा हिउँ नपरेपछि दोलखाका हिमशृङ्खला कालापत्थर जस्ता देखिएका छन् । कालिञ्चोक गौरीशङ्कर हिमाल क्षेत्र सौन्दर्यविहीन बनेकाे छ ।

यसपालि हिमपात नभएका कारण आन्तरीक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको कालिञ्चोकका अर्का होटल व्यवसायी चन्द्रकुमार लामाले बताउनुभयो । धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा आउने पर्यटकको पहिलो रोजाइ हिउँसँग रमाउने रहेको थियो । हिउँ खेल्नकै लागि भारतीय मूलका पर्यटक कालिञ्चोक आउने गरेको व्यवसायी लामाले बताउनुभयो ।

आन्तरिक तथा भारतीय पर्यटककाे दोलखा आउन लागेको हिउँ परेको छ कि छैन भनेर दैनिक फाेन आउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा कालिञ्चोक क्षेत्र परेको छ । 

हिउँ नपरेपछि कृषि र पर्यटन क्षेत्रमा असर पुगेको भीमेश्वर ७ का मकैबारीका किसान मीरा सुवेदीले बताउनुभयो । यहाँका किसानका लागि हिउँ उपहार हो । हिउँदमा जमिनको सतह चिसो हुने र सो समय हिउँ पर्दा जमिनको भित्री तहसम्म चिसो पुग्ने भएकाले कृषकले लगाएको अन्नबाली सप्रिने उहाँले बताउनुभयो ।

दोलखाको हिमाली क्षेत्रमा आलु रोप्ने सिजन भएको छ । तर हिमपात नभएपछि मुख्य आम्दानीकाे स्रोत आलुबाली रहेका किसानहरु चिन्तित भएका छन् ।

हिउँले गहुँ, जौ, आलु, बन्दा, काउली, सागलगायतका अन्नबाली सप्रिनुका साथै फलफूल तथा तरकारीबालीमा लाग्ने विभिन्न रोगको प्रकोप नियन्त्रण गर्छ । अब गर्मी बढ्ने बेला हुन थालेकोले अब हिउँ परे पनि फलफूल तथा अन्नबालीलाई खासै फाइदा नहुने स्थानीय कृषकको भनाइ छ ।