रमेश विश्वकर्मा
गुल्मी, पुस २६ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आत्मवोध माध्यमिक विद्यालय प्रथम भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुख्य नारासहित अन्तर विद्यालय स्थानीय तह स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट हुँदै वडा नम्बर–५ मानकोटस्थित आत्मवोध माध्यमिक विद्यालय प्रथम भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले जानकारी दिनुभयो ।
यस गाउँपालिकाको वडा नम्बर–३ बुढाचौरस्थित खेलमैदानमा तीन दिनसम्म सञ्चालन भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको यस विद्यालयले खेलका विभिन्न २६ विधामा १२ स्वर्ण, नौ रजत र २ कांस्य पदक प्राप्त गरेको हो ।
द्वितीय भएको वडा नम्बर–४ श्रृङ्गास्थित शृङ्गार जनता माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत र तीन कांस्य पदक प्राप्त गरेको छ । तृतीय भएको वडा नम्बर–३ भेडुवास्थित सरस्वती माध्यमिक विद्यालयले तीन स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा यस पालिकाभित्रका १४ वटा विद्यालयको सहभागिता रहेको शाखा प्रमुख आचार्यले बताउनुभयो ।
सहभागी विद्यालयहरूमध्ये प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा प्रथम भएको आत्मवोध माध्यमिक विद्यालयलाई २० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय भएको शृङ्गार जनता माध्यमिक विद्यालयलाई १६ हजार रुपैयाँ नगद र तृतीय भएको सरस्वती माध्यमिक विद्यालयलाई १३ हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।
प्रतियोगितामा सहभागीलाई व्यवस्थापन खर्चसहित प्रमाण पत्रसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताका विभिन्न २६ विधामा भएका खेलहरूमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको छ ।
पुरस्कार वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष पाण्डेयले पुरस्कृतसंगै सहभागी सबै खेलाडीलाई बधाईसहित शुभकामना दिनुभयो । त्यस अवसरमा उहाँले खेल क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि गाउँपालिका नीतिगत रूपमा अगाडी बढेको बताउनुभयो ।