• ७ असार २०८१, शुक्रबार

जिल्ला स्तरीय मेयर कप फुटबल माघमा

blog

कमल खत्री

नेपालगन्ज, पुस २६ गते । बाँके जिल्ला फुटबल सङ्घले कोभिड–१९ पछि पहिलो पटक जिल्ला स्तरीय मेयर कप छात्र–छात्रा प्रतियोगिता गर्ने तयारी गरेको छ । 

प्रतियोगिता माघ ६ देखि १४ गतेसम्म नेपालगन्ज स्थित एन्फा ग्रास रुट टेक्निकल सेन्टरमा हुनेछ । प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीय तहका विद्यालयहरूको सहभागिता रहनेछ ।   

नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको प्रतियोगितामा करिब ४० विद्यालयको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल सङ्घका उपाध्यक्ष निर्मल चन्दले बताउनुभयो । 

प्रतियोगिताको आयोजनाका लागि सङ्घले अहिले तयारी तीव्र गतिमा अगाडी बढाएको उहाँले बताउनुभयो । सङ्घले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । 

कोभिड–१९ का कारण दुई वर्ष यता प्रतियोगिता हुन सकेको थिएन । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामी निकै उत्साहका साथ विद्यालय स्तरको मेयर कप प्रतियोगिता आयोजना गर्न लागिरहेका छौँ । यसले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ । प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेका छौँ । मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागर गर्नेछ ।’’

प्रतियोगिताको विजेता टिमले २१ हजार र उपविजेताले ११ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको तयारीलाई तीव्र गतिमा अगाडी बढाउन विभिन्न उप–समिति समेत गठन गरेको छ ।