• १२ मंसिर २०८१, बुधबार

‘संस्कृति, संस्कार जोगाउनमा होमस्टेको भूमिका महत्त्वपूर्ण’

blog

कार्यक्रममा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस २६ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संस्कृति, संस्कार, रीतिरिवाज जोगाउनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमले आज कैलालीको थारु होमस्टे गाउँ भादामा आयोजना गरेको थारु होमस्टे प्रवर्द्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। 

होमस्टे विशेष गरेर थारु समुदायसँग जोडिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री शाहले होमस्टेलाई अगाडि बढाउनका लागि प्रदेश सरकार होमस्टे सञ्चालकहरूसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताउनुभयो। 

बडघर, भलमन्सालाई अगाडि बढाउनका लागि प्रदेश सरकारले बजेट छुट्टयाएको मुख्यमन्त्री शाहको भनाइ थियो। उहाँले राज्य र पत्रकारबिच विश्वासको वातावरण बन्न नसकेमा मुलुक अगाडि बढ्न नसक्ने उल्लेख गर्नुहुँदै भन्नुभयो,“पत्रकारले खेल्ने भूमिकाले ठुलो अर्थ राख्दछ। त्यसैले तपाईँहरूको सकारात्मक भूमिकालाई अझ बुलन्द बनाउनुहोस्।”

धनगढी उपमहानगरपालिकाका–१६ का वडा अध्यक्ष रामलाल चौधरीले पर्यटन विकासका लागि सबैभन्दा पहिले बाटो आवश्यक रहेको बताउनुभयो। उहाँले सबै समस्या समाधानका लागि सरोकारवाला सबै निकायले गरेको प्रतिबद्धता अक्षरशः पालना गर्न आवश्यक रहेको औँल्याउनुभयो। 

यसैगरी, होमस्टे (घरबास) महासङ्घ नेपालका उपाध्यक्ष लक्ष्मीनारायण चौधरीले होमस्टेले गरिबी निवारणमा सहयोग गर्ने गरेकाले होमस्टेको विकासमा प्रदेश सरकारले सहयोग गर्न आवश्यक रहेको औँल्याउनुभयो। धेरैले होमस्टे सञ्चालन गर्न खोजे पनि राज्यको सहयोग नहुँदा लगानी गर्न नसकेर पछाडि हट्ने गरेको उहाँको भनाइ थियो। 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राईले थारुहरूको पहिचान, संस्कृति, संस्कारका कुरालाई उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। 

थारु होमस्टेमा रहेका थुप्रै चिजलाई ब्राण्डको रूपमा विकास गर्न सकिने भए पनि राज्यको लगानी शून्य हुँदा ब्राण्ड बन्न नसकिरहेको नेपाल आदिवासी जनजाति पत्रकार महांघका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले बताउनुभयो। मठ मन्दिरमा राज्यको लगानी देखिए पनि थारु समुदायको गाउँ र पुस्ताको जीवनसँग जोडिएको देउथान उपेक्षामा रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव चौधरी, थारु विद्यार्थी समाजका ठाकुर करिया प्रधान चौधरी, सुदूरपश्चिम प्रदेश होमस्टे (घरबास) महासङ्घका अध्यक्ष दिनेश दहित लगायतले बोल्नु भएको थियो।