• २१ पुस २०८१, आइतबार

गैँडा तस्करी अभियोगका चार जना फरार अभियुक्त पक्राउ

blog

चितवन, पुस २६ गते । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका-२४ मचानबाट पक्राउ गरेको हो । 

सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी थिए । २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा  वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका-७ भालुमाराबाट पक्राउ गरिएको हो । 

उनी १७ वर्षदेखि फरार थिए । यस्तै निकुञ्ज र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारी खाग तस्करी गरेको आरोपमा १३ वर्षदेखि फरार रहेका जेठा र पुनमगरलाई पक्राउ गरिएको हो । दुवै जनालाई यही पुस २४ गते राप्ती नगरपालिका-११ सिमलटाडीबाट पक्राउ गरिएको हो । 

उनीहरुलाई जिल्ला अदालत चितवनले १५ वर्ष कैद तथा एक लाख जरिवाना तोकेको थियो । सो मुद्दामा चार जना प्रतिवादी रहेका थिए । पक्राउ परेकालाई जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताउनुभयो । रासस