• २ जेठ २०८१, बुधबार

सत्य निरूपण विधेयक संसदमा पेस गर्नुपर्छ : प्रमुख सचेतक लेखक

blog

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले पीडितको कुरा पनि अब सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितहरूले अब धैर्यता गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनु भन्दा पहिला नै सहमति जुटाएर संसदमा पेस गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

उहाँले पीडितहरूले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बार जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुङ्गो लगाउनुपर्ने बताउनुभयो । उहाँले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कुनै डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो नहुने बताउनुभयो ।