• १२ मंसिर २०८१, बुधबार

पाँच पाकेट नुन लिन दुई दिनको यात्रा

blog

सदरमुकाम मान्मको नुन डिपो । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा    

कालीकोट पुस २६ गते । कालीकोटको पचालझरना गाउँपालिका-६ का रमाने बोहोरा खाने नुनका लागि सदरमुकाम मान्म आउनुभयो । एक हजार छ सय गाडी भाडा तिरेर सदरमुकाम मान्म नुन डिपोमा पुग्नु भएका बोहोराले जम्मा नुन पाँच पाकेट पाउनुभयो । 

आउन र जान तीन हजार दुई गाडी भाडा, २५० खाना खर्च गरी तीन हजार ४५० रुपियाँ खर्च गरेर बोहोराले ४५ रुपियाँको नुन लिएर गाउँ फर्किनुभयो । बाटोमा भेटिनु भएका बोहोराले निकै दुखित हुँदै भन्नुभयो, “हामीले सुन मागेको होइन, घर परिवार र गाई बस्तुलाई दिनका लागि नुन मागेको हो ।” यही नुन पनि नपाउनु अन्याय भएको उहाँले सुनाउनुभयो । 

बोहोरा जस्तै समस्या रास्कोट नगरपालिका-१ का गौरी सज्याललाई परेको छ । रास्कोटको सेराचौरबाट मान्म सदरमुकामको गाडी भाडा एक हजार छ । आउन र जान गरेर दुई हजार भाडा खाना, नास्ता गरेर तीन हजार खर्च हुन्छ । तीन हजार नगद खर्च गरेर ४५ रुपियाँको नुन लिएर फर्किनु परेको सज्यालको भनाई छ । 

नुनको डिपोले रास्कोटमा नुन वितरण गरिरहेकाले रास्कोटका नागरिकले नुनकै लागि मान्म आउन नपर्ने प्रतिक्रिया दिने गरेका छन् । तर रास्कोटमा तीन देखि छ महिनाको अन्तरमा नुन वितरण हुन्छ । नुनमा पनि स्थानीय जनप्रतिनिधि, नेताको दबदबा हुने भएकाले सर्वसाधारणले नुन पाउँदैनन् । 

एक जनप्रतिनिधिले पाँच कुन्टलसम्म नुन लिन्छन, अनि कसरी नागरिकले नुन पाउनु संज्यालले दुखेसो पोख्नुभयो । रास्कोट नगरपालिका स्थानीयका लागि गाउँमै नुन पुर्‍याएको भनेर नगरपालिकाले गर्व गरिरहेको छ तर नुन वितरणमा जनप्रतिनिधि स्वयम सहभागी भएर दैनिक सरकारी खर्च पनि गरिरहेका छन् ।

साल्टटेडिङ्ग कर्पोरेसन नेपालको मान्म डिपोका प्रमुख डम्बर बहादुर बुढाले नेपाल सरकारको नीति र जिल्ला प्रशासन कार्यालयको निर्देशन मान्ने गरेको बताउनुभयो । उहाँले केही कुरा मिलाउँदा पनि विरोध हुँदा टाढाको मान्छेले पनि दुख पाएको बताउनुभयो । “हामीले गोदाममा राखेर केही पाउने होइन,” उहाँले भन्नुभयो, “पहिले वर्षको सात हजार कुन्टल नुन आउने गरेको थियो, अहिले कोटा घटाएर समस्या हुने गरेको छ ।”