• ६ जेठ २०८१, आइतबार

आहा रारा गोल्ड कप माघ ९ गतेबाट

blog

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिनुहुँदै सहारा क्लब अध्यक्ष केशवराज बराल । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, पुस २६ गते ।
यसपालिको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं भन्ने उद्घोषका साथ सहारा क्लबले २३ वर्षदेखि पोखरामा आहा रारा गोल्डकप गर्दै आएको छ ।

प्रतियोगितामा दुई विदेशीसहित १२ टिमले सहभागिता जनाउने भएका छन् । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने विदेशी टोलीमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब भएको जनाएको हो । ए डिभिजनका आठ टिम, मोफसल र आयोजकका एक–एकले सहभागिता जनाउने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।

ए डिभिजनका नेपाल प्रहरी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, सङ्कटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार क्लब सहभागी हुनेछन् । नवलपुरको राईजिंग स्टार फुटबल क्लब र आयोजक सहारा क्लबको पनि सहभागिता रहनेछ ।

विजेतालाई १२ लाख, उपविजेतालाई छ लाख रुपियाँ दिइने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उत्कृष्ट पाँच विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपियाँ पुरस्कार दिइनेछ । म्यान अफ द म्याचलाई आठ हजार र फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको छ । अघिल्लो संस्करणमा भुटानिज युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।