• ११ मंसिर २०८१, मङ्गलबार

सन्थाल समुदायको प्रमुख चाड सोहराय सुरु

blog

सन्थाल जातीको मौलिक नाँच।

विष्णुप्रसाद पोखरेल

दमक, पुस २५ गते। झापासहित पूर्वी नेपालमा मुख्य बसोबास रहेको आदिवासी सन्थाल समुदायले मनाउने प्रमुख चाड सोहराय सुरु भएको छ। मंगलबारदेखि सुरु भएको यो चाड ६ दिनसम्म मनाइने गरेको पाइन्छ। पर्वको रूपमा मनाइने यो चाड सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरेको पाइन्छ।

नेपाल आदिवासी सन्थाल उत्थान सङ्घका केन्द्रीय अध्यक्ष सुन्दर बेस्राका अनुसार सांस्कृतिक रूपमा सम्पन्न सन्थाल समुदाय अहिले पनि अन्य समुदायभन्दा पछि परेको बताउनुभएको छ। आफूहरूले मनाउँदै आएको परम्परागत संस्कृति र संस्कार समेत मासिने अवस्था आएको उहाँले बताउनुभयो। गरिबी कारण चाडपर्व सङ्कुचित बन्दै गएको छ।

आफ्नो परम्परागत नृत्य तथा सांस्कृतिक पहिचानको प्रदर्शनसहित गौरीगन्ज गाउँपालिकामा औपचारिक कार्यक्रम गरेर सोहराय सुरु भएको छ। आफूहरूले वर्षौँदेखि मनाउँदै आएको सोहरायको रौनक पहिलाजस्तो नहुने गरेको यसका अगुवा बताउँछन्।

गौरीगँन्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले आदिवासी सन्थाल समुदायको संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सदियौँदेखि सन्थाल समुदायले आफ्नो मौलिक संस्कृतिको रूपमा मनाउँदै आएको यो चाडलाई समुदायका सबैले अपनत्व लिनुपर्ने उहाँको भनाइ छ।

सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ। समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन्। ‘गड’ पूजामा मराङ बुरू, गोसाईं ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ। 

मुर्मुका अनुसार पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ। दाकाकै दिन चेलीबेटी र पाहुनालाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजका नाममा चढाइन्छ।  तेस्रो दिन ‘खुन्टोव’ हो। यो दिन गाईगोरुसहित अन्य बस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गरिन्छ।

सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका अगुवा मानिसहरू समूह बनाएर पालोपालो घरघरमा गएर मिठोमसिनो र मदिरा खाने चलन रहेको बताइन्छ। यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको सन्थाल अगुवाहरू बताउँछन्।

सोहरायको पाँचौँ दिनलाई ‘हाकुकाट्कोम’ भनिन्छ। स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गँगटो मारेर ल्याउने र खाने गर्छन्। यो पर्वको अन्तिम दिन सिकार गरेर मासु खाने चलन रहेको भएपनि अहिले भने यस्तो हुँदैन। घरमै काटेर वा ल्याएर खाने गरिएको जानकारहरू बताउँछन्।