• १३ साउन २०८१, आइतबार

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ललितपुर महानगर र पाटन अस्पतालबिच सहकार्य

blog

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा.पारस कुमार आचार्य र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबुबिच समझदारी पत्र । तस्बिर : ललितपुर महानगरपालिका

ललितपुर, पुस २५ गते । ललितपुर महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ ।

ललितपुर महानगरमा बुधबार आयोजित कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारी पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा.पारस कुमार आचार्य र महानगर प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै महानगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य क्षेत्र महानगरको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गर्ने र स्वास्थ्य क्षेत्रमा विशेष पहिचान बनाएको पाटन अस्पतालसँग सहकार्य गर्न पाउँदा ज्यादै खुसी भएको नगर प्रमुखको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य क्षेत्रको सर्वोत्कृष्ट संस्थासँग सहकार्य गर्दा महानगरले लागू गरेको यो कार्यक्रममा धेरै राम्रो हुने विश्वास लिएको छु ।’’

ललितपुर महानगरले नागरिकको जीवनस्तर सहज बनाउने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य क्षेत्रमा हामीले गरेको खर्च पुगेको छैन, यसलाई अब हामी बढाउँदै जान्छौ ।’’ ललितपुर महानगरले गरेका असल अभ्यासहरूको अनुकरण र अनुसरण मुलुकका अन्य स्थानीय तहहरूको गरेको जानकारी गराउनुहुँदै प्रमुख महर्जनले हरेक क्षेत्रमा उत्कृष्ट सेवा लिन लागि परेको स्पष्ट पार्नुभयो ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. पारस कुमार आचार्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई योग्य ठानेर मौका दिनु भएकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘‘महानगरको स्वास्थ्य बिमा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’’ ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मुलुकै जेठो नगरपालिका ललितपुर महानगरले पाटन अस्पताल जस्तो विशेष छवि बनाएको संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको प्रष्ट पार्नुभयो  ।

ललितपुर महानगरले महानगरको १०५ औँ स्थापना दिवस पुस २ गते अपाङ्गता भएका दुई व्यक्तिलाई बिमा कार्ड प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

महानगरले वडाबाट बिमितहरुको तथ्याङ्क सङ्कलन गर्न दर्ता सहयोगी छनौट गरिसकेको छ । दर्ता सहयोगीले तालिम पश्चात् नाम सङ्कलन गर्नेछन् । आउँदो फागुन १ गतेदेखि बिमा कार्यक्रम सम्पूर्ण लागि लागू हुन्छ । समझदारी पत्रमा उल्लेख भए अनुसार विशेषज्ञ चिकित्सकसहितको बहिरङ्ग सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, रेडियोलोजी, एम्बुलेन्स सेवा पाटन अस्पतालले उपलब्ध गराउने छ ।

स्वास्थ्य बिमाअन्तर्गतको दाबी भुक्तानीको विवरण हरहिसाब तोकिए बमोजिमको ढाँचामा राख्ने तथा स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुनेछ । यो समझदारीको अवधि १० वर्षसम्म रहेछ ।