• १५ मंसिर २०८१, शनिबार

प्रयोगविहीन बन्यो कर्मचारी मिलन केन्द्रको भवन

blog

मर्मतसम्भार नहुँदा भत्किने अवस्थामा पुगेको कर्मचारी मिलन केन्द्रको भवन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २५ गते ।
कर्मचारी मिलन केन्द्र म्याग्दीको भवन प्रयोगविहीन भएको छ । सङ्घीयता कार्यान्वयनसँगै बेनी बजारको वीरेन्द्रचोकमा रहेको कर्मचारी मिलनकेन्द्रको भवन प्रयोगविहीन भएको हो । एउटा सभाहल सहितको एकतल्ले भवन मर्मतसम्भार नहुँदा भत्किने अवस्थामा पुगेको छ ।  

कुनै समय दैनिक रुपमा सानातिना कार्यक्रम यही भवनमा हुन्थे । विहान बेलुका कर्मचारीको चिया गफ, जमघट, जिल्लामा आउने नयाँ कर्मचारीको स्वागत र बिदाइ मिलन केन्द्रको भवनमा आयोजना गरिन्थ्यो । तर पछिल्लोे पाँचवर्ष यो भवनमा कुनै पनि कार्यक्रम गरिएकाे छैन ।

भवनको मर्मत सम्भारमा सरोकारवालाहरुले चासो नदिँदा थोत्रो र जीर्ण बनेको छ । भवन परिसर झारजङ्गलले भरिएको छ । भवन मर्मत सम्भारको पर्खाइमा छ । 

भवनको मर्मत सम्भार गर्न आर्थिक स्रोत अभाव भएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भवनको मर्मतसम्भार गर्न केन्द्रसँग पैसा छैन । स्रोतको व्यवस्थापन गर्न सकिएको छैन । कहीँ कतै स्रोतको व्यवस्थापन गरेर मर्मतसम्भार गर्ने सोच बनाएका छौं ।’’

जिल्लामा  सरुवा भएर आउने कर्मचारी र जाने कर्मचारीलाई स्वागत, बिदाइ, भेटघाट र बैठक आजकल जिल्ला प्रशासन कार्यालयमा हुने भएकाले पनि उक्त भवन प्रयोगविहीन भएको उहाँको भनाइ छ ।

‘‘केही वर्ष पहिला बजारमा सानातिना कार्यक्रम गर्नका लागि सभाहलको समस्या थियो सबैले यही भवनमा कार्यक्रम गर्थे,’’ अध्यक्ष रानाभाटले भन्नुभयो, ‘‘अहिले सरकारी कार्यालयहरु, होटल विभिन्न सङ्घसंस्थाले कार्यक्रम प्रयोजनका लागि सभाहल बनाउन थाले । त्यसकारण पनि यो भवनको प्रयोग हुन छाड्यो ।’’ भवन प्रयोग हुनछाडेपछि यसको मर्मतसम्भारतिर कसैको ध्यान नपुगेको उहाँको भनाइ छ ।

कर्मचारी मिलन केन्द्रमार्फत अहिले पनि जिल्लामा स्मारिका प्रकाशन, निजामती सेवा दिवसमा विभिन्न कार्यक्रम, कर्मचारीहरु मिलन, पुनर्मिलन तथा स्वागत र बिदाइ जस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै आएको उहाँको भनाइ छ ।