तानसेन समाचारदाता
तानसेन, पुस २५ गते। पक्की पुलको माग गरेको एक दशकपछि पुल निर्माणको काम सुरु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचल र वडा नं. २ दोभान जोड्ने कुर्मान खोलामा स्थानीय बासिन्दाले पुल बनाउन माग गरेको एक दशकपछि पक्की पुल बनाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०/८१ मा विनियोजन गरेको दुई करोड ९५ लाख रुपियाँमा पुल निर्माणको काम सुरु भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
एक वर्षको अवधिभित्र पुल निर्माणको काम सक्ने गरी कुर्मान खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । आठ मिटर चौडाइ र २५ मिटर लम्बाइको पुल बनाउन थापा इन्जिनियरिङ बुटवलसँग सम्झौता भएको भण्डारीले बताउनुभयो ।
तिनाउ गाउँपालिकाको कचल, दोभान, रैनादेवी छहराको फेक, सत्यवती, पालुङ्मैनादीसम्मका बासिन्दाले यो बाटो भएर यात्रा गर्छन् । पुल नहुँदा यहाँका बासिन्दा काठले बनाएको फड्के पुलबाट जोखिम मोलेर हिँड्ने गरेका छन् । पुल निर्माण गर्न माग गरेको एक दशकपछि बजेट परेर ठेक्कामार्फत पुल निर्माणको काम सुरु भएको स्थानीय बासिन्दा हिमाल गाहाले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नबनेको समयसम्म काठको फड्केबाटै कुर्वान खोला तरियो, अब पुल बनेपछि बाह्रै महिना यातायातमा यात्रा गर्न सजिलो भएको छ ।”
पुल बनेपछि यस भेगका किसानले उत्पादन गरेको तरकारी, फलफूल, तेजपत्ता निकासी गर्न सहज हुने छ । यस्तै जिल्ला सदरमुकाम तानसेन, बुटवल, पालिकाको केन्द्र दोभानसम्मको आवतजावतमा सहज हुने स्थानीय बासिन्दाको भनाइ छ । कुर्वान खोलामा पक्की पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारीसाधन गुडाउनुपर्ने बाध्यता थियो । तिनाउ–१, कचलका स्थानीय बासिन्दा अमरबहादुर सुनारीले यस्तै वर्षात्को समयमा कुर्वान खोलाका कारण सडक अवरुद्ध हुँदा यस भेगका मानिसले बिरामी डोलामा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।
पक्की पुल बनाउन सुरु गरेपछि मुख्य गरी तिनाउ गाउँपालिकाको वडा नं. १ र २ का बासिन्दा र रिब्दीकोट र रैनादेवी छहराका बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुने छ । पुल बनाउने तिनाउ गाउँपालिकाको आफ्नै स्रोत नभएको अवस्थामा प्रदेश सरकारको लगानीमा पुल निर्माण सुरु भएको तिनाउ–१ का वडाध्यक्ष भुवनसिंह चिदीले बताउनुभयो ।