अत्तरिया समाचारदाता
अत्तरिया, पुस २५ गते । सुदूर पश्चिम (सुप) प्रदेशको अस्थायी राजधानी आउने पर्यटकका लागि विश्राम गर्ने कुनै स्थान छैन । कोही पर्यटक आउँदा छोटो समयमा घुमेर जाने स्थानको अभाव छ ।
धनगढी भारतीय सीमासँग जोडिएको भए पनि यहाँ आन्तरिक वा बाह्य पर्यटकका लागि पर्यटकीय स्थल नहुँदा यस क्षेत्रमा खासै पर्यटक घुम्नका लागि भनेरै आउने गरेको पाइँदैन । यही बेला धनगढी उपमहानगरपालिकाले धनगढीमा रहेको भीम उद्यान निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । उद्यानमार्फत धनगढीमा आउने पर्यटकको सङ्ख्या बढाउने उपमहानगरको लक्ष्य छ ।
धनगढी उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपिआर तयार गरेको धनगढी उपमहानगरका इन्जिनियर द्विजराज भट्टले बताउनुभयो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको दशरथ भीम उद्यान (पार्क) लाई स्तरीय तथा आधुनिक बनाउन डिपिआर तयार भएको भट्टले बताउनुभयो । उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्टार्ट अफ बिजनेस) गरेर आयआर्जन गर्न सक्ने छन् ।
भीम उद्यान निर्माणका लागि सुरुमा ३६ करोड रुपियाँ बजेट आवश्यक पर्ने देखिएको छ, आवश्यकता अनुसार बजेट थपिने भट्टले बताउनुभयो । सङ्घीय सरकारको सहरी विकास कोष तथा नगर विकास कोषको ऋणमा उद्यान निर्माण गर्ने योजनामा धनगढी उपमहानगरपालिका छ ।
दुई वर्षमा उद्यान निर्माणको काम पूरा गर्ने र १७ वर्षमा सहरी विकास कोष र नगर विकास कोषको ऋण चुक्ता गर्ने योजनामा धनगढी उपमहानगरपालिका छ । दशरथ भीम उद्यानमा छुट्टाछुट्टै ज्येष्ठ नागरिक पार्क, बालबालिका पार्क, युवा पार्क, म्युजिक फाउन्टेन र लेजर सो सभा, सेमिनार सञ्चालन गर्न हल, पानीको फोहरा र फुड बजार रहने इन्जिनियर भट्टले बताउनुभयो ।
उद्यानमा सुदूरपश्चिमका सामाजिक तथा धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार पाइने छन् । साथै सुपको वेशभूषा, संस्कृति चिनाउने भिडियो र तस्बिरहरू प्रत्येक साँझ प्रस्तुति गरिने बताइएको छ ।
भिडिओ र तस्बिरहरूले सुदूरपश्चिमका सम्पूर्ण धार्मिक, सामाजिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, वेशभूषा, संस्कृतिहरू चिनाउन महìवपूर्ण भूमिका खेल्ने उपमहानगरपालिकाको दाबी छ ।