• ३ असार २०८२, मङ्गलबार

एपिएफको पोस्टमा सङ्कटाको सात गोल

blog

काठमाडौं, पुस २४ गते। सङ्कटा क्लबले जारी एन्फा यु-१६ यूथ लिग फुटबलमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल गरेको छ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलबार सङ्कटाले एपिएफमाथि ७-१ को जित निकालेको हो। कृष्णबहादुर आलेको ह्याट्रिकमा सङ्कटाले विभागीय टोलीमाथि सहज जित निकालेको हो। 

यो जितसँगै सङ्कटा ९ खेलबाट १९ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। सङ्कटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अङ्कसहित दोस्रो स्थानमा छ। खेलको ११ औँ मिनेटमा कृष्णबहादुरकै गोलबाट सङ्कटाले अग्रता लिएको थियो। त्यसपछि २६ औँ मिनेटमा भक्त श्रेष्ठ, ३६ औँ मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गर्नुभयो।

५३ औँ मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै सङ्कटाको ५-० को अग्रता दिलाउनुभयो। तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो। तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार खाएको हो। 

सङ्कटाका लागि छैटौँ गोल अरुण श्रेष्ठले ८१ औँ मिनेटमा गर्नुभयो । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। त्यससँगै सङ्कटाले जारी लिगमा छैटौँ जित निकाल्यो। आठौँ खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ।