• १७ असार २०८१, सोमबार

भीम पुस्तकालय सञ्चालनमा ल्याइने

blog

दोलखा समाचारदाता

दोलखा, पुस २४ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित भीम पुस्तकालय पुनः सञ्चालनमा ल्याइने भएको छ । जिल्लाकै जेठो पुस्तकालयका रूपमा रहेको सो पुस्तकालयको भवन भूकम्पले भत्किएपछि सार्वजनिक प्रयोगमा आउन सकेको थिएन । पुस्तकालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेकाले चाँडै सञ्चालनमा आउने स्थानीय एवं समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाबुबाजेले पठन संस्कृति विकासका लागि २०१० सालमै सञ्चालनमा ल्याएको भीम पुस्तकालय भूकम्पमा पूर्ण क्षति भयो । पुनर्निर्माणका लागि कसैको चासो नरहेकै बेला रूपा फाउन्डेसन काठमाडौँले पुस्तकालय भवन निर्माण सुरु गरेको थियो । फाउन्डेसनको १५ लाख रुपियाँ लगानीमा २० बाई १० फुटमा दुई तले भवन निर्माण हुन थालेको छ । फाउन्डेसनका सल्लाहकारसमेत रहनुभएका इन्जिनियर श्रेष्ठले भन्नुभयो, “भवनको संरचना ढलान तथा स्टिल हुने छ । चैत महिनासम्म भवन सम्पन्न गरी वडालाई हस्तान्तरण गर्न लागिएको छ । भुईं तला व्यावसायिक हुने छ । यसबाट आएको भाडाले पुस्तकालय सञ्चालन गरिने र माथिल्लो तलामा पुस्तकालय सञ्चालन हुने छ ।” 

पुस्तकालय वडाले सञ्चालन गर्ने र केही पुस्तकको सहयोग फाउन्डेसनले गर्ने लक्ष्य राखिएको छ । उहाँले आफ्नै लगानीमा काठमाडौँ बालाजुलगायतका तीन स्थानमा पुस्तकालय स्थापना गरिदिनुभएको छ । सदरमुकाम चरीकोटमा सञ्चालित गौरीशङ्कर सामुदायिक पुस्तकालय उहाँकै पहलमा स्थापना भएको हो । उहाँले स्थापना गर्नुभएको पुस्तकालय राम्ररी सञ्चालनमा आएकाले सपना पूरा हुन पुग्दा खुसी लागेको बताउनुभयो । 

भवन नबन्दा पुस्तकालयमा रहेका जायजेथाको पनि अत्तोपत्तो भएन । भत्केको भवनका काठपात पनि बेवारिसे बनेको छ । काठमाडौँ, दोलखा, तत्कालीन जिल्ला विकास समिति र शिक्षा कार्यालयबाट प्राप्त भएका आठ हजार पुस्तक थिए । भवन बनेपछि बेपत्ता पुस्तकको खोजी गरी राख्ने काम गरिने जनाइएको छ । यसमा स्थानीय माधवमणि राजभण्डारीको ठुलो सहयोग रहेको छ । 

त्यस बेला यो पुस्तकालय यति प्रख्यात थियो कि उत्तर कोरिया, जर्मन, चाइना, बेइजिङलगायतका मुलुकबाट पत्रिका आउँथ्यो । कार्यवाहक अध्यक्ष तीर्थनारायण जोशीले भन्नुभयो, “पुस्तकालय सार्दा सार्दा थकित भएपछि स्थानीय ज्ञानकृष्ण श्रेष्ठले दान दिनुभएको जग्गामा भवन बनेको थियो, जो भूकम्पले भत्कायो ।” जग्गादाता ज्ञानकृष्ण श्रेष्ठ, भरतबहादुर श्रेष्ठ, आत्माकृष्ण श्रेष्ठसमेतको पूर्ण सहयोग छउन्जेल पुस्तकालय राम्ररी सञ्चालन भयो । उहाँहरूले छोडेपछि पुस्तकालयको बेहाल भएको बताइन्छ । 

वडाध्यक्ष स्टालिन श्रेष्ठले पुस्तकालयको चासो बढेको जानकारी दिँदै भन्नुभयो, “पुस्तकालयको जायजेथा खोज्छु । पुस्तक घरेलु तथा साना उद्योग विकास कार्यालयको कोठामा राखिएको भन्नेसम्म जानकारी आएको छ । खोजबिन गरी पुस्तकालयको सम्पत्ति सुरक्षित गर्नतिर लाग्ने छु । भवन बनेपछि पुस्तकालय पुनः सञ्चालन गर्न पहल गरिरहेको छु ।”