• १७ असार २०८१, सोमबार

अस्पताल भवन अलपत्र

blog

रजनी योगी

सुर्खेत, पुस २४ गते । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण छ वर्षसम्म भवनको आधा मात्रै काम भएको छ । 

मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बताउनुभयो । उहाँका अनुसार पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । ५० शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन अस्पताल बाध्य भएको छ । अहिले अस्पतालले २४ शय्याबाट सेवा दिइरहेको छ । ५० शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । 

सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबिच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको हो । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि म्याद थप गरिएको छ । पहिलो सम्झौता अनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप गरिएको थियो । २०७७ असोज २५ देखि पुस २५ सम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटक पटक म्याद थप गरिरहेको छ ।

२०८० जेठ समान्तसम्म अन्तिम म्याद थियो । म्याद सकिएसँगै सात महिनादेखि काम ठप्प छ । साजसज्जा, रङरोगन र एउटा भवनको ढलानको कामसमेत बाँकी छ । भवन निर्माण थालिएको छ वर्ष भए पनि हालसम्म भवनको ६५ प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । 

अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार छ वर्षअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र निर्माण कम्पनीबिच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माण भने अलपत्र अवस्थामै छ । धेरै पटक म्याद थपिए पनि ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन ।

निर्माणाधीन अस्पताल भवनमा पाँच वटा ब्लक छन् । समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको अस्पतालले जनाएको छ । समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पतालका प्रमुख डा. सापकोटाले बताउनुभयो । 

उहाँले पटक पटक ताकिता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण अलपत्र परेको जानकारी दिनुभयो । ५० शøया क्षमता भए पनि १५ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको डा. सापकोटाले बताउनुभयो । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ २०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रामकृष्ण आचार्यले लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माण सम्पन्न नभए ठेक्का सम्झौता तोड्न प्रक्रिया अघि बढ्ने बताउनुभयो । 

तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्तिसमेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुनः म्याद थपका लागि कम्पनीले माग गरेको छ । २०८० जेठमा म्याद सकिएको छ । अहिले म्याद थपका लागि कम्पनीले केन्द्रमा निवेदन दिएको छ । अन्तिम पटक म्याद थपेर यसै वर्षमा काम गर्न कार्यालयले ताकिता गरेको छ ।