• १७ असार २०८१, सोमबार

मावि चलाउन एउटै दरबन्दी

blog

धनगढी समाचारदाता

धनगढी, पुस २४ गते ।  एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् ।  

गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताउनुभयो ।

सो गाउँपालिकाको वडा नम्बर १ नौरङ्गा, २ स्थित कञ्ज, ३ स्थित छोटी पर्सियामा माध्यमिक विद्यालय सञ्चालन भइरहेका छन् । वडा नम्बर ४ को पर्सिया र सिकलपट्टी जाई र वडा नम्बर ५ को शानदेऊमा माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ । यी विद्यालय सञ्चालनका लागि स्वीकृत दरबन्दीका अतिरिक्त राहत शिक्षक छ जना, शिक्षण सिकाइ अनुदान आठ जना कार्यरत छन् । विद्यालय सञ्चालनका लागि बाँकी निजी स्रोतबाट शिक्षक राखिएको छ । 

माध्यमिक तहमा कम्तीमा पनि विषयगत पाँच जना शिक्षक आवश्यक पर्छ तर अत्यन्त न्यून जनशक्तिका भरमा माध्यमिक कक्षा सञ्चालन गर्न बाध्य रहेको शिक्षा अधिकृत सिद्धराज भट्टले बताउनुभयो । उहाँका अनुसार शैक्षिक उद्देश्य र पाठ्यक्रम पूरा गर्नका लागि यो जनशक्ति अत्यन्त थोरै हो । अधिकृत भट्टले शिक्षक दरबन्दी र जनशक्ति नै कम हुँदा प्राथमिक विद्यालय तहको योग्यता भएका शिक्षकबाट माध्यमिक तहका कक्षामा पठनपाठन गराउन बाध्य भएको बताउनुभयो ।

कतिपय विद्यालयले चन्दा उठाएर तलब खुवाउने गरी निजी स्रोतका शिक्षक राखेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । लालझाडी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा तीन वटा प्राथमिक र बाँकी सात वटा आधारभूत तह पढाइ हुने विद्यालय रहेका छन् । प्राविमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ठिकै रहे पनि मावि र आधारभूत दुवैमा शिक्षक दरबन्दी न्यून रहेको शिक्षा अधिकृत भट्टले जानकारी दिनुभयो । उहाँले अहिलेको अनुदानसमेत गरेर माविका लागि पाँच जना दरबन्दी आवश्यक रहेको उल्लेख गर्नुभयो । 

सो पालिकाको शारदा मावि नौरङ्गा, भानु मावि कञ्ज र सरस्वती मावि छोटी पर्सियामा कक्षा ९ देखि १२ सम्मको पढाइ पनि भइरहेको छ । यी विद्यालयले कुनै पनि अनुदानबिनै १२ सम्म कक्षा सञ्चालन गरिरहेको जनाइएको छ । अस्थायी दरबन्दीसमेत नरहेको उल्लेख गर्दै शिक्षा अधिकृत भट्टले तीन वटै विद्यालय निजीको भरमा चलिरहेको बताउनुभयो । लालझाडी गाउँपालिकालाई दुई वर्षअघि नै पूर्ण साक्षर पालिका घोषणा गरिएको थियो ।