• २६ वैशाख २०८१, बुधबार

आलु रोप्ने खेतमा आलु नै रोपियो

blog

काठमाडौँ, पुस २४ गते । सरकारले दिएको अनुदान दुरुपयोग गरेर अघिल्लो वर्ष इँटा बनाएको खेतमा यो वर्ष आलु नै रोपिएको छ । आलु सुपर जोनका लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जग्गालाई इँटा बनाउन दिएपछि अघिल्लो वर्ष गोरखापत्रले प्राथमिकतासाथ समाचार प्रकाशित गरेपछि चौतर्फी आलोचना भएको थियो ।

तरकारी तथा खाद्यान्न बाली उत्पादनका लागि दुई वर्षअघि १० वर्षसम्म खेती गर्ने र घडेरीकरण नगर्ने सर्तमा हस्ताक्षर गराएर साना खेतका गरालाई एकीकृत गरेर चक्लाबन्दी गरिएको जग्गामा अघिल्लो वर्ष इँटा बनाउन दिए पनि यो वर्ष भने आलु रोपिएको छ । 

पाँचखाल नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामेश्वर दाहालले यो वर्षको सुरुदेखि खेतीका लागि प्रोत्साहन गरेकाले किसानले आलु नै रोपेको उल्लेख गर्नुभयो । अघिल्लो वर्ष आलोचित बन्नु परेपछि पाँचखाल नगरपालिका, वडा कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) ले आलु रोप्न ताकेता गरेको थियो । २०७७ सालमा २८ रोपनी क्षेत्रफल जग्गालाई चक्लाबन्दी गरिएको थियो । सो कार्यमा सरकारको ३६ लाख रुपियाँ लगानी गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना 

(सुपर जोन) आलुका प्रमुख भरतप्रसाद कँडेलले आलु रोप्न एकीकृत गरिएको खेतमा आलु नै रोप्नु खुसीको कुरा रहेको बताउनुभयो ।