• १ जेठ २०८१, मङ्गलबार

सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा पाँच जना विरुद्ध पत्र दायर

blog

काठमाडौं, पुस २३ गते । नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ तथा हानी एवम् सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको छ । 

टंगालस्थित अख्तियार दुरुपयोग आयोगका प्रवक्ता देवप्रसाद थपलियालेले नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत ५ जना उपर गैरकानुनी लाभ तथा हानी एवम् सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको जानकारी दिनुभयो । 

बुटवल उपनगरपालिकाका-१३ साबिक बुटवल नगरपालिका-९ ख को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरूसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्ने उजुर निवेदन सम्बन्धमा अनुसन्धान गर्दा कागजात सच्याई भ्रष्टाचार गरेको देखिएको हो ।  

आयोगका अनुसार बुटवल-९ ख मा पर्ने सार्वजनिक बाटो कायम रहेको जग्गालाई ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी साबिक जग्गाधनीकै नाउँमा कायम गरिएको तर कित्तालाई फाइल नक्सा नम्बर तयार पारी साबिकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको, यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी जिल्ला रुपन्देही साबिक बुटवल-९ ख को कि.नं ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य गरेको देखाएको छ । 

त्यसैगरी, नापी कार्यालय, बुटवल, रुपन्देही तत्कालीन सर्वेक्षक शिवनाथ मण्डलले सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी जिल्ला रुपन्देही साबिक बुटवल-९ ख को फिल्डबाट नै गायब गराउने गरी रुजु गर्ने कार्य गरेको पाइएको छ । 

नापी कार्यालय, बुटवल, रुपन्देही तत्कालीन अमिन शौकत अलि खाँले सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषमा दर्ता गर्नुका साथै सरकारी नक्सा नम्बरसमेत फरक पारी जिल्ला रुपन्देही साबिक बुटवल-९ ख को फिल्डबाट नै गायब गराउने गरी तयार गर्ने कार्य गरेको आरोप दर्ता भएको छ । 

आयोगले जग्गाधनी नन्द बहादुर कालाथापाले जिल्ला रुपन्देही साबिक बुटवल-९ ख मा पर्ने सार्वजनिक बाटो कायम रहेको जग्गालाई नापी कार्यालयका कर्मचारीहरूसँग मिलेमतो गरी फाइल नक्सा परिवर्तन गर्न-गराउन लगाई कित्ताकाट गरी सार्वजनिक बाटोलाई व्यक्तिका नाउँमा कायम गरी व्यक्तिगत लाभ हुने किसिमले खरिदबिक्री गर्ने गराउने तथा सार्वजनिक बाटोको जग्गाको क्षेत्रफल घटाउने कार्य गरेकोले आरोप पत्र दर्ता भएको जनाएको छ ।  

जग्गाधनी मान प्रसाद श्रेष्ठको हकमा जिल्ला रुपन्देही साबिक बुटवल-९ ख मा पर्ने सार्वजनिक बाटो कायम रहेको जग्गालाई कित्ताकाट गरी कायम हुन गएको देखिएकोमा सार्वजनिक जग्गा खरिद बिक्री गर्दा निजको संलग्नता नदेखिएपछि मात्र जग्गा खरिद गरेको देखिएको छ ।