• २६ वैशाख २०८१, बुधबार

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

blog

धान । फाइल तस्बिर

गुल्मी, पुस २३ गते । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो । 

बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद एक सय पाँच र बिक्री एक सय २५ तोकेको छ । त्यसैगरी अरुण-२ खरिद एक सय २० र बिक्री एक सय ४० निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी ९५ र बिक्री एक सय कायम गरिएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ । गतवर्ष पाँच सय २७ क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष तीन सय ७७ क्विन्टल मात्र बीउ उत्पादन भएको छ । जिल्लामा यसवर्ष ४० लाख बराबरको मकैको बीउ उत्पादन भएको उहाँले बताउनुभयो । 

यसवर्ष एक सय ५६ मेट्रिकटन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७ दशमलव सात मेट्रिकटन मात्र बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी गराउनुभयो । जिल्लामा पाँच सय ६१ मेट्रिकटन कमैको बीउ आवश्यक पर्नेमा बीउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उहाँको भनाइ थियो । 

जिल्लामा उन्नत बीउको उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाईब्रिड बीउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताउनुभयो । 

त्यसैगरी बीउ उत्पादक सञ्जालले स्थानीय धानको बीउको मूल्य पनि निर्धारण गरेको छ । निर्धारित मूल्यअनुसार स्थानीय हंसराज धान खरिद प्रतिकेजी एक सय र बिक्री एक सय १५ कायम गरिएको छ । चैत-५ र खुमल-१० प्रतिकेजी खरिद ८० र बिक्री ९० र मकवानपुर-१ खरिद प्रतिकेजी ७० र बिक्री प्रतिकेजी ८० निर्धारण गरिएको छ ।

पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाईब्रिड बीउको प्रयोग बढ्दो छ । यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाईब्रिड बीउ प्रयोग गर्ने गरेको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिनुभयो । रासस