• २५ वैशाख २०८१, मङ्गलबार

बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने

blog

छविलाल पाण्डे 

बुटवल, पुस २३ गते । बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।

प्राङ्गारिक खेतीको विकास तथा कृषिमा व्यवसायीकरणको प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्टिकृत ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला गर्न लागिएको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो । २०६२ सालमा पहिलोपटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य सङ्घले त्यसयता नियमित रूपमा विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको छ । 

अध्यक्ष अर्यालले कृषि प्रविधिको प्रयोग, प्राङ्गारिक कृषिमा व्यावसायिक विकास, कृषिमा लगानी आकर्षण गरी युवा सहभागिता तथा प्राङ्गारिक उत्पादनमा उपभोक्ताको आकर्षण बढाउनको लागि पनि यो पटक राष्ट्रिय स्तरको प्राङ्गारिक कृषि मेला गर्न लागिएको बताउनु भयो ।

सङ्घले यस क्षेत्रको आर्थिक विकासका लागि उद्योग वाणिज्य, कृषि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न प्रकारका प्रवर्द्धनात्मक कार्यहरू सञ्चालन गर्दै आएको बताउँदै उहाँले विगतको मेलाले कृषिको व्यावसायिक विकासमा सहयोग पुगेको दाबी गर्नुभयो ।

सङ्घका महासचिव मुक्ति अधिकारीले कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणमा टेवा पुर्‍याउन, कृषिमा आधारित उद्योगहरूको बजार विकास, उपभोक्तामाझ स्थानीय कृषि उत्पादनको प्रचार–प्रसार, बजार पहिचान, आयात प्रतिस्थापन तथा निर्यात सम्भावनाको पहिचान, रैथाने तथा प्राङ्गारिक वस्तुहरूको महत्त्व तथा बजार बिस्तारमा यो मेलाले भूमिका खेल्ने बताउनु भयो । 

कृषि मेलामा कृषि उत्पादन, प्रविधि, माछा तथा पशुपन्छी समेतगरी बढीमा १५० स्टल सहभागी गराउने र कृषि मेलामा कृषि उत्पादनमा आधारित फुड फेष्टिबल पनि गरिने सङ्घले जनाएको छ ।