जयकृष्ण यादव
इनरुवा, पुस २३ गते । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा दुई युवालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।
चौकमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी गणेश यादवले जानकारी दिनुभयो ।
प्रहरीले इनरुवा नगरपालिका–८ का वडा कार्यालयका कम्प्युटर अपरेटर २६ वर्षीय राजेश मण्डल र २२ वर्षीय विवेक मण्डललाई कुटपिट गरेको हो ।
सुरक्षा जाँचको नाममा ब्लुबुक र लाइसेन्स चेकजाँच गर्दा सबै देखाउँदा समेत एक हजार रुपियाँ जरिवाना मागेको र नदिएको भन्दै प्रहरीले उहाँहरूमाथि कुटपिट गरेको बताइएको छ ।
पुस २१ गते राति करिब १०ः३० बजे पीडित र प्रहरीबिच लाइसेन्सको कुरालाई लिएर वादविवाद हुँदा प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी यादवले जानकारी दिनुभयो ।
राजेश र विवेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचार गराइ घर फर्किने क्रममा इनरुवा–३ सखुवागाछीमा प्रहरीले लाइसेन्स चेकजाँच गर्न रोकेको थियो ।
प्रहरीको कुटाइबाट घाइते राजेशको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको छ भने विवेकको स्वास्थ्य अवस्था सामान्य छ ।
यता घटनाको विषयमा मौखिक जानकारी जिल्ला प्रहरी कार्यालयलाई पीडित पक्षले दिएको र प्रहरीले छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले घटनाको विषयमा अर्थात् बुझेर बाहिर ल्याउने जानकारी दिनुभएको छ ।