• ३१ वैशाख २०८१, सोमबार

रानीबासमा प्रहरी चौकी स्थापना

blog

रमेश विश्वकर्मा 

गुल्मी, पुस २३ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर-४, रानीबासमा प्रहरी चौकी स्थापना भएको छ । यहाँ रहेको बलेचौर प्राथमिक विद्यालय भवनमा प्रहरी चौकी रुरु स्थापना भएको हो । 

विद्यालय समायोजनपछि रिक्त रहेको विद्यालय भवनलाई गाउँपालिकाले आवश्यक मर्मत सम्भार र सम्पूर्ण व्यवस्थापनको कार्य गरेर प्रहरी चौकी स्थापना गरिएको हो । प्रहरी चौकीको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनकिशोर प्रधानले उद्घाटन गर्नुभयो । 

त्यसअवसरमा गाउँपालिका अध्यक्ष ज्ञवालीले प्रहरी चौकी स्थापनाको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । प्रहरी चौकी स्थापनाले यहाँको भरपर्दो शान्ति सुरक्षा र विपद् व्यवस्थापनलगायतका कार्यका लागि गाउँपालिकालाई ठुलो सहयोग पुग्ने बताउनुभयो । इलाका प्रहरी कार्यालय रिडी र प्रहरी चौकी रुरुले पालिकाभित्र शान्ति सुरक्षा अमनचैन, अपराध अनुसन्धान, विपद व्यवस्थापनलगायतमा सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रधानले हरेक स्थानीय सरकारको केन्द्रमा नेपाल प्रहरीको चौकी स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो । नागरिकसँग नेपाल प्रहरीले काम गर्ने भएको हुँदा नागरिकको शान्ति सुरक्षाका लागि नेपाल प्रहरीले चौबीसै घण्टा काम गर्ने बताउनुभयो । 

पालिकाको सबै क्षेत्रमा गस्ती गरेर नागरिक, नागरिकको घर, पसल, व्यवसायलगायतको शान्ति सुरक्षामा विशेष प्रबन्ध मिलाउने भन्दै एसपी प्रधानले रातको समयमा पनि शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने बताउनुभयो । नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न स्थानीयसँग उहाँले आग्रह गर्नुभयो । 

नेपाल प्रहरीसँग आवश्यक समन्वय सहकार्य गरेर अगाडि बढ्नका लागि नागरिकलाई आग्रह गर्नुभयो । उहाँले नेपाल प्रहरीले सत्य सेवा सुरक्षणम् भन्ने मूल मर्मलाई आत्मसात् गरेर शान्ति सुरक्षा कायम, अपराध अनुसन्धान तथा नियन्त्रण र विपद व्यवस्थापनसम्बन्धी काम गर्ने कुरालाई ध्यानमा राखेको बताउनुभयो ।

यहाँ स्थापना भएको प्रहरी चौकीले अपराध अनुसन्धान, शान्ति सुरक्षा अमनचैनसँगै विपद व्यवस्थापनको लागि गाउँपालिको सहयोगमा आवश्यक काम गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । प्रहरी आफैँ एक्लैले काम नगर्ने र नागरिकसँग मिलेर काम गर्ने हुँदा नागरिक, समुदाय र प्रहरीको समन्वयमा जस्तोसुकै काम पनि प्रहरीले गर्न सकिने हुँदा गाउँपालिकालाई शान्ति सुरक्षा, अमनचैन राख्न सजिलो हुने उहाँले बताउनुभयो । 

१५ जनाको दरबन्दी स्वीकृत भएको प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक रामसिंह क्षेत्रीको नेतृत्वमा १० जना प्रहरी कार्यरत हुनुहुन्छ । प्रहरी चौकी स्थापनासँगै शान्तिपूर्णरुपमा भयरहित वातावरणमा बस्न पाइने भन्दै नागरिक खुसी भएका छन् । चौकी स्थापनासँगै बलेटक्सार बजार, रानीबास बजार, रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर-२, ३, ४, ५ र ६  प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।