• १६ वैशाख २०८१, आइतबार

पाथीभरा क्षेत्रका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने

blog

पाथीभरा पदमार्गअन्तर्गत रुखमा फलामको काँटी प्रयोग गरेर राखिएको एक साइनबोर्ड । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । अव्यवस्थित रूपमा राखिएका साइनबोर्ड र ब्यानर अर्थात् सङ्केत पाटी वा प्रचार सामग्रीले संरक्षित वनस्पति तथा प्राकृतिक सौन्दर्यमा असर पुगेकाले त्यस्ता सामग्री हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।

समितिले आइतबार सूचना जारी गर्दै १५ दिनभित्र अर्थात् आगामी माघ ७ गतेसम्ममा पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानरजस्ता सामग्री हटाइसक्न उल्लेख गरेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र साइनबोर्ड र ब्यानरजन्य सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । 

पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थित रूपमा र त्यहाँ रहेको वनस्पति तथा रुखहरूमा फलामका काँटी प्रयोग गरेर (ठोकेर) राखिएका साइनबोर्डले प्राकृतिक सौन्दर्यमा प्रतिकूल असर पुर्‍याइराखेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोट बिरुवाहरू मासिने अवस्था देखिएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यलाई बचाउन र स्वच्छ वातावरण कायम राख्ने गरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिल गर्नुभएको छ । तोकिएको समयभित्र साइनबोर्ड र ब्यानरजन्य सामग्री नहटाएमा पाथीभराको गरिमा कायम राख्न र प्राकृतिक वातावरण संरक्षणका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

पाथीभरा क्षेत्रको वनमा लालीगुराँस, लौठसल्ला, चाप, चिमाल, च्याङ्ग्रे सल्लाजस्ता रुख तथा बोटबिरुवा छन् । त्यस्तै निकालो र मालिङ्गोका वन छन् भने अन्य बहुमूल्य जडीबुटीलगायतका वनस्पति पाथीभरा क्षेत्रमा रहेको बताइएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।