• १० मंसिर २०८१, सोमबार

रङ्गमञ्च र चलचित्रमा एकसाथ

blog

काठमाडौँ, पुस २३ गते । नाटकबाट आएका कलाकार किरण श्रेष्ठ ‘पर्खी बसेँ तिमीलाई’ मार्फत चलचित्रमा प्रवेश गर्न लाग्नुभएको छ । 

माघेसङक्रान्तिलाई लक्ष्य गर्दै पुस २७ गते प्रदर्शन हुने चलचित्रमा श्रेष्ठले पठाओ चालकको भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रमा उहाँसँगै रक्षा बुढाथोकी र अनिशा रसाइली पनि प्रवेश गर्दै हुनुहुन्छ ।

किरणले भन्नुभयो, “थिएटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम चलचित्र पनि हो । अफर आएपछि किन नगर्ने भन्ने लागेर चलचित्रमा प्रवेश गरेको हुँ ।” 

“थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । चलचित्रमा  रेकर्डेड हुन्छ । चलचित्रमा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ,” किरणले अनुभव सुनाउँदै भन्नुभयो, “एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नु पर्छ भन्ने लगेर सुरु गरेको हुँ । थिएटर र फिल्म दुवैलाई निरन्तरता दिन्छु ।”

चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय छ भने राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।