शालिग्राम नेपाल
चितवन, पुस २२ गते । चितवनको नारायणी नदी नियन्त्रणका लागि गरिँदै आएको तटबन्धन कार्य बजेट अभावमा सात महिनादेखि बन्द भएको छ । बजेट नआएपछि निर्माणको काम प्रभावित भएको नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शेखर न्यौपानेले जानकारी दिनुभयो । स्रोत सुनिश्चित भएको तर निर्माण कार्यका लागि बजेट निकासा नभएका कारण रोकिएको छ, सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “काम गरेका ठेकेदार कम्पनीले भुक्तानी पाएका छैनन्, हामीले यस विषयमा धेरै पहल गरेका छौँ तर बजेट निकासा भएन ।” बजेट नभएपछि ठेकेदारले काम नगरेको उहाँले बताउनुभयो ।
ठुलो आयोजना भएकाले यसमा लगानी धेरै छ । तटबन्धनका लागि आवश्यक सामग्री पाउन कठिन हुने, सामग्री जुटाएर काम गर्दा बजेट नपाउने यस्तो समस्या भएको न्यौपानेले बताउनुभयो । ठेकेदारले उधारोमा सामग्री ल्याउने, मजदुरले तलब नपाउने जस्ता समस्याबाट निर्माण कम्पनी गुज्रेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म काम भएको थियो । असारमा वर्षा लागेर निर्माणको काम भएन हिउँद लागेपछि काम हुनुपर्ने, त्यो भएको छैन, सूचना अधिकारी न्यौपानेले भन्नुभयो ।
तटबन्धनका लागि चार अर्ब ७२ करोड रुपियाँ बजेट छुट्याइएकोमा विभिन्न चरणको ठेक्काका लागि तीन अर्ब ९५ करोड रुपियाँमा सम्झौता गरिएको थियो । चालु आर्थिक वर्षमा खरिद गुरुयोजना अनुसार थप एक अर्ब १३ करोड रुपियाँ आवश्यक पर्नेमा जम्मा १६ करोड ४० लाख रुपियाँ मात्रै विनियोजन भएको न्यौपानेले बताउनुभयो । त्यस रकमबाट गत वर्षको बाँकी भुक्तानी गरिएको छ । गत असारसम्म काम सम्पन्न भई प्राप्त बिलको भुक्तानी गर्नुपर्ने रकम ४२ करोड ४७ लाख रुपियाँ बाँकी छ । सो रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम लगाउन सकिएको छैन । गत वर्ष आएको बजेटबाट १५ करोड रुपियाँ दिइएको उहाँले बताउनुभयो । न्यौपानेले भन्नुभयो, “बजेट आएन र दिन सकिएन भने काम हुँदैन, काम नभए बनाएका संरचना आउँदो वर्षाले बगाइदिने छ । पाँच वटा ठेक्कामा कुनै पनि काम पूरा भएका छैनन् । १० देखि ५० प्रतिशतसम्म काम भएका छन् । अधुरा कामलाई सम्पन्न गर्न बजेट नै आवश्यक छ ।”
जेठ महिनासम्मका लगानी र प्रगति
नारायणी नदीको रामघाटदेखि काभ्रेघाट पाँच किलोमिटर क्षेत्रका लागि एक अर्ब १५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस क्षेत्रमा २९ प्रतिशत काम सम्पन्न भएको छ । यो तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । यस क्षेत्र नारायणगढ बजारबाट पाँच किलोमिटर दक्षिणमा रहेको छ । त्यस्तै मदन भण्डारीको शव भेटिएको स्थान गाजीपुरदेखि हिरापुरसम्म पाँच किलोमिटर लम्बाइको यो तटबन्धनका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यसको प्रगति १० प्रतिशत मात्र भएको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै सिसैदेखि बालुवासम्मको साढे पाँच किलोमिटर लम्बाइको यो तटबन्धनका लागि ३७ करोड रुपियाँको ठेक्का सम्झौता भएकोमा यसको प्रगति सन्तोषजनक छैन । बालुवादेखि गोलाघाट नारायणी र राप्ती नदीको सङ्गमस्थल क्षेत्रमा साढे दुई किलोमिटर तटबन्धनका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस क्षेत्रमा ५० प्रतिशत काम सम्पन्न भएको छ । पाँच वटा ठेक्का सम्झौतामध्ये नारायणी नदीको पुलबाट उत्तरतर्फको सीबिच मोडलको तटबन्धन कार्य सम्पन्न भएको छ । यसको लम्बाइ ६४० मिटर रहेको थियो । अन्य क्षेत्रको तटबन्धनको काम गर्न कठिनाइ भएको कार्यालयले जानकारी दिएको छ । समयमा बजेट निकासा हुन नसकेमा म्याद थप्नुपर्ने र लागतसमेत वृद्धि हँुदै जाने छ ।
विभिन्न प्याकेजमा ठेक्काको काम २०७९ मङ्सिरदेखि फागुनबाट निर्माण कार्य सुरु भएको थियो । निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले कानुनी प्रव्रिmया पूरा गरेर काम गर्न कठिन हुने कार्यालयले जानकारी दिएको छ ।