• १४ असार २०८१, शुक्रबार

नीति फेरेर मात्र देशमा परिवर्तन हुन्छ : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुला सभालाई सम्बोधन गर्नुहुँदै सभापति रवि लामिछाने । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), पुस २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले असल नीतिबाट मात्र देशमा परिवर्तन हुने बताउनुभएको छ । देश र जनताको अवस्था फेर्नको लागि नीति परिवर्तनको खाँचो रहेको बताउनुभएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुला सभालाई शनिबार रामपुरमा सम्बोधन गर्दै लामिछानेले देशमा परिवर्तन ल्याउनका लागि व्यवस्था र वाद फेरेर मात्र नहुने बताउनुभयो । 

सभापति लामिछानेले भन्नुभयो, ‘‘व्यवस्था परिवर्तनका कुरा कतिपयले चलाएका छन् । यो भएन । त्यो वाद ल्याउने कि ? त्यो तन्त्र ल्याउने कि ? यो तन्त्र भएन उ तन्त्र भएन । देश परिवर्तन त कुनै तन्त्र फेरेर, वाद फेरेर होइन नीति फेरेर मात्र बन्छ ।’’

नीतिहरुको नीति राजनीति नै भएको बताउँदै नीति फेर्नका लागि राजनीतिमा होमिएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताको मुद्दालाई शिरमा राखेर  हिँडेको भन्दै जनताको आशा र भरोसाको दियो निभ्न नदिने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा आवाज बुलन्द बनाएर अघि बढिरहेको बताउनुभयो ।  

उहाँले अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिन पनि आग्रह गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं संघीय सांसद सुमना श्रेष्ठले संसदमा राष्ट्रघाती कानुन आएको बताउँदै त्यस विरुद्धको लागि खबरदारी गरिरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसदमा उठाउँदै आइरहेको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन अधिकारी, इश्रा मुल्ला मिया र लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल लगायतले धारण राख्नु भएको थियो ।