• १२ असोज २०८१, शनिबार

शैक्षिक सहयोगले बाँकेका १६९ बालबालिकाको पढाइ निरन्तर

blog

नेपालगन्जका अनाथ बालबालिकाका साथमा दाता । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २१ गते । कतार च्यारिटी नेपालको शैक्षिक सहयोगका कारण बाँकेका १६९ जना अनाथ बालबालिकाको पढाइले निरन्तरता पाएको छ । 

कतार च्यारिटी नेपालले सामाजिक सुरक्षा परियोजना अन्तर्गत बाँकेका अनाथ बालबालिकालाई पाँच वर्ष अघिबाट सुरु गरेको शैक्षिक सहयोगका कारण उनीहरुको पढाइमा निरन्तरता रहेको हो । 

कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इर्शाद शेषले गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित बाँकेका अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिँदै आएको बताउनुभयो । 

उहाँले यो कार्यक्रम पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले शैक्षिक सहयोग पाइरहेको बताउनुभयो । 

प्रायोजन शैक्षिक सहयोग पाउनेमा सय जना बालक र ६९ जना बालिका रहेको र उनीहरु सामुदायिक, निजी र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको कार्यक्रम प्रबन्धक शेषले जानकारी दिनुभयो । 

अनाथ बालबालिकाको शिक्षामा निरन्तरता र अन्य आवश्यक आधारभूत आवश्यकता पुरा गराउन उनीहरुलाई मासिक ६ हजार रुपियाँका दरले सहयोग गर्दै आएको नेपालगन्ज उपमहानगर शिक्षा शाखाले जनाएको छ । 

सहयोग पाउने बालबालिकाको पढाइमा भएको सुधार, समस्या र चुनौतीको मूल्यांकन गरेर उनीहरुको प्रगतिका बारेमा जानकारी लिएर सुधारका लागि सुझाव दिन विद्यालयका शिक्षक, सामाजिक परिचालक र बालबालिकाका आफन्तसँग बारम्बार भेटघाट र छलफल गर्ने कार्य भइरहेको कतार च्यारिटी नेपालले जनाएको छ ।