• १४ असार २०८१, शुक्रबार

पथरैया नदीमा देखिए डल्फिन

blog

आज पथरैया नदीमा खेल्दै गरको डल्फिन । तस्बिर : भोजराज ढुंगाना

अविनाश चौधरी

धनगढी, पुस २१ गते । कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् । 

टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेका हुन् । जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा परेको संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । 

“यो क्षेत्रमा हिउँदमा जीवनमै पहिलो पटक डल्फिन देखेँ”, उहाँले भन्नुभयो । वर्षा याममा भने सो क्षेत्रमा सजिलै धेरै डल्फिन देख्न सकिन्छ । तर, बर्खा सकिएसँगै पानीको सतह घट्दै गएपछि डल्फिनहरु गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गरेका छन् । 

अहिले नदीमा पानीको गहिराई एक मिटरमात्रै रहेको अवस्थामा दुर्लभ डल्फिन आउनु निकै खुशीको कुरो रहेको ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार केही दिन अगाडि रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पानी पथरैया नदीमा आएको थियो । जसको कारण पानीको सतह अलिकति बढेकाले डल्फिन आइपुगेको हुन सक्ने उहाँको भनाइ छ ।