• १४ असार २०८१, शुक्रबार

राष्ट्र बैंक सरकारको सहयोगी नभएको मुख्यमन्त्री जम्कट्टेलको आरोप

blog

उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, पुस २१ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्र बैंक सरकारको सहयोगी नभएको आरोप लगाउनुभएको छ। मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै राष्ट्र बैंकको अर्थ नीति र गतिविधिले बैंकमा पैसा थुप्रेर बसे पनि लगानी हुननसकेको स्पष्ट पार्नुभयो। 

ब्याज घटाउने र लगानीको मोडेल बनाउने कुरा राजनीतिक निर्णयमा भरपर्ने बताउँदै लगानी क्षेत्र सरकारले छुट्याइसकेपछि राष्ट्र बैंकले दायाबाया गर्दा समस्या उत्पन्न भएको मुख्यमन्त्रीको भनाइ छ। 

“सरकारले बजेट भाषण गर्छ, अर्थविद्ले पेश गर्छ, अनि त्यो पास भइसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ, त्यो ठ्याक्कै क्रस गर्नेगरी विपरित हुन्छ”, मुख्यमन्त्रीले भन्नुभयो। उहाँले नीतिगत रुपमा धेरै कुरा सच्याउन पर्ने अवस्था रहेको जिकिर गर्दै बजेट आउनुपूर्व नै मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो। 

बागमती प्रदेश सरकारले उद्यमशील, घरेलु र कृषि क्षेत्रमा साना–साना काम गर्न सके पनि ठुला उद्योग चलाउने क्षेत्राधिकार नभएको स्पष्ट पार्नुभयो। हेटौँडा औद्योगिक क्षेत्र र मयुरधापको औद्योगिक क्षेत्र प्रदेश सरकारले चलाउनुपर्ने आवाज उठेपनि प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने उहाँले बताउनुभयो। प्रदेशमा हस्तकला र घरेलु उद्योगलाई चाहिने काठ, ढंगा लगायतका सामग्री निर्वाध ढंगले दिने नीति पास गरिसकेको बताउँदै घोषणाको तयारी गरिरहेको बताउनुभयो। प्रदेशको विभिन्न स्थानमा उद्योगग्राम, कोशेली घर बन्ने क्रममा रहेको बताउँदै प्रदेश सरकारको सक्रियतामा उद्यमशीलता तालिमहरु संचालन गरिरहेको बताउनुभयो। 

लगानी र नीति बनाउनुपूर्व अध्ययन अनुसन्धान र बजारीकरणको अध्ययन नहुँदा स्थापना भएका उद्योग बन्द हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो। उहाँले उद्योग खोल्नु पूर्व त्यसलाई आवश्यक कच्चा पदार्थको व्यवस्था र बजारको अध्ययन गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई सुझाव दिनुभएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मित्र राष्ट्रको भ्रमणबारे स्मरण गर्दै उहाँ राजनीतिक मुद्दामा भन्दा पनि व्यापार व्यवसायको विषयमा केन्द्रित भएको र सम्झौं पनि त्यही किसिमको भएको धारणा राख्नुभयो। 

प्रदेश सरकारले समुदायमा आधारित ८५ पालिकालाई उत्पादनको पकेट क्षेत्र घोषण गर्ने तयारी गरेको जानकारी दिनुभयो। प्रदेशलाई खाद्यान्नको पकेट क्षेत्र घोषण पनि छिट्टै गरिने उहाँले बताउनुभयो। उत्पादन र व्यवसायका मोडेल बनाउने जिकिर गर्दै मुख्यमन्त्रीले त्यसको नेतृत्व प्रदेश सरकारले लिन तयार रहेको बताउनुभयो। 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, महेश बतौंला, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मुक्तान लगायतकाले बोल्नुभएको थियो।